बुधबार, मंसिर १३, २०८०

आज भेटिएन बिषादी प्रयोग गरिएका तरकारी

 काठमाडौं, ३१ असार । कालीमाटी तरकारी तथा फलफूल बजारमा विक्रीमा राखिएका हरिया तरकारीहरुमा मानव स्वास्थ्यमा हानी पु¥याउने बिषादी प्रयोग भएको पाइएको चर्चा बढ्दै गईरहेको छ । केही दिन अगाडि आलु तथा पालुङ्गोको सागमा समेत बिषादीको मात्र बढी भएको बिषादी विश्लेषण प्रयोगशालाले प्रमाणित गरेपछि ती तरकारीहरु विक्रीका लागि रोक समेत लगाएका थियो । कालीमाटी तरकारी बजारमा बिषादी प्रयोग गरिएका तरकारी विक्री भएको समाचारहरु बाहिर आएपछि अत्यधिक बिषादी प्रयोग भएका तरकारी विक्रीमा रोक लगाउने र ती तरकारी नष्ट गर्न मुख्य सचिव लीलामणि पौडेलले निर्देशन समेत दिनु भएको छ ।
काठमाडौंको ठूलो तरकारी बजारमा रुपमा रहेको कालीमाटी तरकारी बजारमा विक्रीका लागि राखिएका तरकारीको बिषादी परीक्षण गरेर मात्र विक्री गर्न स्वीकेत दिन थालेको छ । करीव एक महिनादेखि नै बाली संरक्षण निर्देशनालयले सो क्षेत्रमा विक्रीका लागि ल्याईने तरकारीको बिषादी भए नभएको जाँच समेत गर्दै आएको छ ।
सोही क्रममा आज विहान ५ः३० बजे नै बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माको नेतृत्वमा गएको टोलीले विक्रीका लागि ल्याइएको भारतबाट आयात गरिएको आलु, दोलखाको मुडेको आलु, बोडी, काँक्रो र भाण्टामा बिषादी जाँच गर्दा बिषादीको प्रयोग भएको तर उपभोग गर्न मिल्ने थोरै मात्रामा बिषादी प्रयोग भएको भेटिएको छ ।
आज कालीमाटी बजारमा विक्रीका लागि राखिएका र प्रयोगशालामा बिषादी परीक्षण गरिएका भारतबाट आयात गरिएको आलु, दोलखाको मुडेको आलु, बोडी, काँक्रो र भाण्टा खान योग्य भएको डिल्लीराम शर्माले बताउनु भयो ।

प्रकाशित मिति: मङ्लबार, असार ३१, २०७१