बागलुङ, ३१ असार । परम्परागत खेती प्रणालीलाई वैज्ञानिक र व्यावसायिक बनाउन किसानलाई कृषि उपकरण दिन थालिएको छ । कृषिलाई यान्त्रीकरण गर्दा थोरै श्रम र उत्पादन लागतमा बढी मुनाफा कमाउन सकिने हुँदा किसान पनि खुसी छन् । कृषि विकास कार्यालयले अनुदान सहयोगमा किसानलाई कृषि उपकरणहरू दिन थालेपछि कृषिमा यान्त्रीकरण सुरु भएको हो । यो वर्षमात्रै विभिन्न किसिमका करिब सय उपकरण किसानलाई दिइएको जिल्ला कृषि विकास कार्यालय बागलुङले जनाएको छ । आर्थिक वर्षभरिलाई लक्षित गरेर छ किसिमका उपकरण र अन्य अत्याधुनिक कृषि सामग्री किसानलाई प्रदान गरिएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो । अधिकतम ७५ प्रतिशतदेखि न्यूनतम २५ प्रतिशत अनुदानमा ती उपकरण प्रदान गरिएको छ । यसमध्ये मिनी पावर टिलर आठ, धान बताउने पङ्खा १५, कोदो चुट्ने मेसिन (थ्रेसर) दुई, विषादी छर्ने स्प्रेयर ३०, आरी÷सिकेचर ३० र १५० प्लास्टिक क्रेट प्रदान गरिएको छ ।
यो वर्ष १४ वटा पावर टिलरको माग आए पनि आठ वटामात्र वितरण गरिएको छ । बजारमा टिलर अभाव भएका कारण बाँकी अर्को वर्ष प्रदान गरिने भएको छ । सबै उपकरणमा गरी रु पाँच लाखभन्दा बढी किसानलाई अनुदान दिइएको छ । कृषि सेवा केन्द्रको सिफारिसमा आएका कृषि समूह र व्यावसायिक किसानले अनुदानमा उपकरण पाउने वरिष्ठ कृषि विकास अधिकारी रिजालले बताउनुभयो । उपकरणबाहेक प्लास्टिक घरका लागि सामग्री, बीउबिजन, प्रविधि, सीप, तालिम पनि किसानलाई प्रदान गर्ने गरिएको छ । “व्यावसायिक रूपमा कृषि उत्पादनमा लागेका कृषि समूह र व्यक्तिलाई समेत अनुदानमा कृषि उपकरण प्रदान गरिरहेका छौँ” रिजालले भन्नुभयो, “बर्सेनि यो कार्यक्रमले निरन्तरता पाउँछ, कृषिको आधुनिकीकरणका लागि उपकरणको प्रयोगले ठूलो टेवा पुग्ने हाम्रो विश्वास छ ।” -कृषि साप्ताहिक
Add Comment