बाबियाचौर (म्याग्दी), २९ असार । म्याग्दीमा वार्षिक रु ३१ करोड बराबरको दूध उत्पादन हुँदै आएको छ । म्याग्दीका किसानले पालेका ६५ हजार गाई र ४५ हजार भैँसीबाट वार्षिक ५२ सय मेट्रिकटन दूध उत्पादन हुने गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । वार्षिक रूपमा भैँसीबाट तीन हजार ६०० मेट्रिक टन, गाईबाट एक हजार ६०० र चौँरीबाट १०० मेट्रिक टन दूध उत्पादन हुने गरेको जिल्ला पशु सेवा कार्यालयका पशु स्वास्थ्य प्राविधिक डिल्लीराम रेग्मीले जानकारी दिनुभयो । प्राविधिक रेग्मीका अनुसार जिल्लामा भैँसीको तुलनामा गाईको सङ्ख्या बढी भए तापनि दूध उत्पादनका हिसाबले भैँसीबाट नै बढी दूध उत्पादन हुने गरेको छ । कुल उत्पादित दूधमध्ये ६० प्रतिशत उपभोग र ४० प्रतिशतको हाराहारीमा बजारमा बिक्री हुने गरेको बताइएको छ । हालको बजार मूल्य प्रतिलिटर रु ६० का दरले हिसाब गर्दा म्याग्दीमा वार्षिक रु ३१ करोड २० लाख मूल्य बराबरको ५२ लाख लिटर दूध उत्पादन हुने गरेको कार्यालयले यसै वर्ष गरेको अध्ययनले देखाएको हो ।
जिल्लामा हाल व्यावसायिक दूध उत्पादन र बिक्री गर्ने उद्देश्यले ९९४ वटा उन्नत जातका गाई र एक हजार ७३९ वटा भैँसी पालिएको पशु सेवा कार्यालय म्याग्दीको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी चौँरीगाईको सङ्ख्या ३५७ रहेको छ । व्यावसायिक हिसाबले गाईभैँसी, बाख्रा र कुखुरापालन गर्ने क्रमसँगै पशुजन्य उत्पादन वृद्धि भएको जिल्ला पशु सेवा कार्यालय म्याग्दीका प्रमुख वरिष्ठ पशु चिकित्सक डा दयाराम चापागार्इंले बताउनुभयो ।
Add Comment