धनकुटा, २९ असार । नर्सरी व्यवसायबाटै बर्सेनि रु १० लाखभन्दा बढी आम्दानी लिन सकिन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, धनकुटा नगरपालिका वडा नं २ निवासी ४९ वर्षीय नरेन्द्र कार्कीले नर्सरी व्यवसाय गरेरै बर्सेनि रु १० लाखभन्दा बढी आम्दानी लिँदै आउनुभएको छ । रु १० वर्षअघि नर्सरी व्यवसायमा लाग्नुभएका कार्कीले धनकुटा नगरपालिका वडा नं २ स्थित आफ्नो घरमा, अर्को भिरगाउँ गाविसमा र सिन्धुलीमा गरी तीन ठाउँमा नर्सरी व्यवसाय गर्दै आउनुभएको छ । उहाँले सुन्तला, जुनार र कागती जातका अमिलो फलफूलको नर्सरी राख्ने गर्नुभएको छ । “यसपालि रु १० देखि १२ लाख कटाउँछु होला”, उहाँले भन्नुभयो । “जग्गामा मकै छ¥यो, मरिमरी कोदालोले माटो खन्यो, केही नहुने रहेछ, बरु नर्सरीबाट भने त्यति नै जग्गामा विभिन्न जातका गरी ९० हजार जति बिरुवा उमार्न सकिन्छ” कार्कीले बताउनुभयो ।
यस्तै वेलहारा गाविस–१ निवासी गणेशबहादुर कार्कीले पनि बर्सेनि नर्सरीबाटै रु तीन लाखसम्म आम्दानी लिँदै आउनुभएको छ । करिब ३२ वर्ष बागवानीमा काम गर्नुभएका कार्कीले सेवा निवृत्त भएपछि यो व्यवसाय सुरु गर्नुभएको हो । उहाँले सुन्तला, जुनार र कागतीका अतिरिक्त किमु जातको सुन्तला, जापानी ओन्सुजातको सुन्तला आदिको नर्सरी उत्पादन गर्ने गर्नुभएको छ । यसरी नर्सरी व्यवसाय गर्ने किसानहरू मनग्य आम्दानी गर्न सफल हुँदै गएको जिल्ला कृषि कार्यालय धनकुटाका बाली संरक्षण अधिकृत छविलाल घिमिरेले बताउनुभयो । उहाँका अनुसार धनकुटा जिल्लामा सुन्तला जातको नर्सरी व्यवसाय राम्रो भएकाले अहिले अरू किसान पनि यसतर्फ आकर्षित हुँदै गएका छन् । अमिलो जातअन्तर्गत सुन्तला, कागती, जुनारलगायतका फलफूलको नर्सरीका लागि धनकुटा जिल्ला स्रोत जिल्लाका रूपमा स्थापितसमेत भएको छ । यहाँबाट मुलुकका विभिन्न जिल्लामा सुन्तला, जुनार र कागतीका बिरुवा निकासीसमेत हुने गरेको छ ।
Add Comment