बेलौरी (कञ्चनपुर), २९ असार । कञ्चनपुरमा आज एकदिने केरा महोत्सव भएको छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा पहिलोपटक केरा महोत्सव, २०७१ भएको हो । एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत केरा महोत्सव भएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका कार्यकारी अधिकृत प्रेमसिंह भाटले जानकारी दिनुभयो । केरा तथा केराजन्य वस्तुको प्रचारप्रसार र प्रवद्र्धन गर्न केरा महोत्सव आयोजना गरिएको उद्योग वाणिज्य सङ्घले जनाएको छ । महोत्सवमा केरा तथा केराबाट बन्ने मम, चिल्ली, खिर, पकौडा, फिङ्गर चिप्स, चिप्स, अचार, रोटीलगायतका खाद्य परिकार प्रदर्शन गरिएको छ । वस्तु तथा सेवाको बेचबिखन प्रवद्र्धन गरी कृषक तथा व्यवसायीको आयवृद्धि गर्ने उद्देश्य रहेको यस कार्यक्रममा जिल्ला विकास समिति, कृषि विकास कार्यालय, डिभिजन सहकारी कार्यालयसमेत सहयोगी रहेको सङ्घले जनाएको छ । महोत्सव अवलोकनका लागि निःशुल्क व्यवस्था गरिएको छ । १० हजारभन्दा बढीले मेला अवलोकन गर्ने सङ्घले जनाएको छ ।
जमिन भाडामा लिएर व्यावसायिक केराखेती : कञ्चनपुरका केरा उत्पादक कृषकले जमिन भाडामा लिएर व्यावसायिक रूपमा केराखेती सुरु गरेका छन् । ‘एक गाउँ एक उत्पादन’ कार्यक्रममार्फत उनीहरूले जमिन भाडामा लिएर केराखेती सुरु गरेका हुन् । जिल्लाको भीमदत्त नगरपालिका–१० तिलकेनी–५ सुकासाल, श्रीपुर, रामपुर दैजी र कृष्णपुरमा ‘एक गाउँ एक कार्यक्रम’ अन्तर्गत केराखेती गरिएको छ । ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमले अनुदान दिएपछि सो क्षेत्रमा केराखेती गरिएको सो कार्यक्रमका सदस्य सचिव तथा कञ्चनपुर उद्योग वाणिज्य सङ्घका कार्यकारी अधिकृत प्रेमसिं भाटले बताउनुभयो । उहाँका अनुसार कार्यक्रमबाट अनुदान पाएका भीनपा– १० तिलकेनीको प्रकाश केरा फर्म तथा प्रशोधन केन्द्रका सञ्चालक पूर्णसिंह साउदले पाँच बिघा जमिन भाडामा लिएर नौ हजार केराका बोट लगाएका छन् । वार्षिक रु एक लाख ७५ हजार भाडा दिनेगरी छ वर्षका लागि उक्त जमिन लिएका छन् । साउदले विलियम हाइब्रेड र जिनाइन जातका केरा लगाएका छन् ।
यस्तै दैजीमा रहेको राना थारु केरा फर्म तथा प्रशोधन केन्द्रले पनि नौ बिघा जमिन भाडामा लिएर केराखेती गरेको छ । फार्मका सञ्चालक करमसिंह रानाले वार्षिक रु एक लाख, ८९ हजारमा पाँच वर्षका लागि जमिन भाडामा लिएर केराखेती गरेको जानकारी दिनुभयो । जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका अनुसार कञ्चनपुरका २०० हेक्टरमा केरा उत्पादन हुने गरेको छ । कृषि विकास कार्यालयका प्रमुख गणेशचन्द ढकालले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमसँगै कञ्चनपुरमा पनि व्यावसायिक रूपमा केराखेती गरिरहेको जानकारी दिनुभयो । “पहिले यहाँ व्यावसायिक रूपमा केराखेती हुँदैन्थ्यो, अब अलिअलि भइरहेको छ”, उहाँले भन्नुभयो, “कञ्चनपुरमा अबको आठ-१० वर्षपछि बाहिरबाट केरा आयात गर्नुपर्ने बाध्यता यहाँको उत्पादनले घटाउने कार्यालय प्रमुख ढकालले दाबी गर्नुभयो ।
Add Comment