बुधबार, मंसिर १३, २०८०

एक गाउँ, एक उत्पादनअन्तर्गत पहिलो वर्ष २५ लाख खर्च

इलाम, २९ असार । ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रमअन्तर्गत छनोटमा परेको किबीफलको व्यावसायिक खेतीका लागि यहाँ नर्सरी व्यवस्थापन गरिएको छ । पाँच वर्षसम्म सञ्चालन हुने कार्यक्रमको एक वर्षको अवधिमा साँखेजुङ गाविसका गङ्गा विष्ट, नरेन्द्र सुवेदीको किबी बगैँचा व्यवस्थापन, कृष्ण गुरुङ, मिलन खत्री र देउकुमार राईको किबी खेतीमा नमुना बगैँचा स्थापना तथा डम्बरबहादुर खत्री र गोपाल दाहालको जमिनमा १०÷१० हजार किबीका स्वस्थ बिरुवा तयार गरिएको छ । किबीको बजारीकरण, यसको उपयोगिता, यसको महत्वका बारेमा किसानसँग अन्तक्र्रिया र तालिम सञ्चालन गरिएको शुक्रबार सञ्चालित वार्षिक समीक्षा कार्यक्रममा इलाम उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष नुतनदेव दुलालले जानकारी दिनुभयो ।

                जिल्ला कृषि विकास कार्यालय र इलाम उद्योग वाणिज्य सङ्घको साझेदारीमा आव २०७०÷७१ देखि कार्यक्रम सञ्चालन हुँदै आएको छ । पहिलो वर्ष कृषि विकास कार्यालय र इलाम उद्योग वाणिज्य सङ्घको साझेदारीमा साढे रु १२ लाख ५० हजारका दरले रु २५ लाख खर्च भएको सङ्घले जनाएको छ । दोस्रो वर्षदेखि किबीको खेती विस्तार गरिने भएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका दुई÷दुई वटा गाविसमा किबी खेती विस्तार गरिने दुलालले बताउनुभयो । विसं २०६४ सालमा पहिलोपटक इलामको सुलुबुङ गाविसबाट सुरु भएको यो खेती सुलुबुङसहित माइपोखरी, माबु, माइमझुवा, साँखेजुङ, शान्तिडाँडा, साङरुम्वा, जमुना, लुम्दे, मङ्गलबारे गरी ३९ गाविसमा विस्तार भइसकेको छ । अठार वटा फलको स्वाद एकै फलबाट लिन सकिने किबी फलमा भिटामिन ‘सी’ प्राप्त हुने गङ्गा विष्टले बताउनुभयो । फलहरूको राजा भनेर चिनिने यो फल प्रतिकिलो रु ४०० मा बिक्री भइरहेको यस खेतीमा संलग्न किसान बताउँछन् । यस फलबाट जुस, जाम, वाइनलगायतका पेय पदार्थ बन्ने गर्दछ । किसानमा यसको व्यावसायिक खेतीका लागि प्राविधिक ज्ञानको अभाव र दक्ष प्राविधिक नहुँदा खेती प्रणालीमा समस्या सिर्जना भएको विष्टको भनाइ छ । साँखेजुङमा मात्रै तीन दर्जनभन्दा बढी किबी खेतीमा किसान संलग्न छन् । यो वर्षमात्रै स्थानीय टेकबहादुर विष्टले रु चार लाख बराबरको किबी फल बिक्री गर्नुभएको छ ।

प्रकाशित मिति: आइतवार, असार २९, २०७१