सोमवार, बैशाख ३, २०८१

तीस प्रतिशतमात्र रोपाइँ

काठमाडौँ, २८ असार । असार महिना सकिनै लाग्दा अझै पनि काठमाडौँ दक्षिण भेगमा ३० प्रतिशतभन्दा बढी रोपाइँ हुन सकेको छैन । विगतका वर्षमा असारको अन्तिम सातासम्म ८० प्रतिशतसम्म रोपाइँ गरिसक्ने कृषक पर्याप्त पानीको अभावमा रोपाइँ गर्न नसक्दा समस्यामा परेका छन् । धान रोपाइँका लागि यस क्षेत्रमा लगभग ५० प्रतिशत खेतमा आकाशे पानीको भरपर्नुपर्ने र आकाशे पानीको भरपर्नु नपर्ने स्थानमा पनि पर्याप्त पानी नपरेका कारण पानीका मूलहरु बढ्न सकेका छैनन् । दक्षिणकाली कृषि सेवा केन्द्रका प्रमुख रघुनाथ खड्काका अनुसार पानीको अभावले गर्दा अहिलेसम्म पनि अधिकांश जग्गा बाँझो रहेकाले कृषकलाई चिन्तित बनाएको छ । यस क्षेत्रमा हालसम्म जम्मा ३० प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको जानकारी गराउँदै उहाँले बाँकी रोपाइँका लागि आकाशे पानीकै प्रतिक्षामा कृषक रहेको बताउनुभयो । असारको पहिलो सातासम्म रोपाइँ गर्ने सोचमा रहेका यस क्षेत्रका अधिकांश कृषक धानको बीउ छिप्पिँदै गएका कारण थप समस्यामा परेको स्थानीय कृषक श्याम बस्नेत बताउनुहुन्छ ।
अझै केही दिनभित्रमा रोपाइँ गर्न नपाउने हो भने यस वर्ष धेरै खेत बाँझो नै राख्न कृषक बाध्य बन्ने उहाँको भनाइ छ । पानीकै अभावमा काठमाडौँका अधिकांश भागमा रोपाइँ प्रभावित भएको जिल्ला कृषि विकास कार्यालयका कृषिप्रसार अधिकृत टीकाकुमारी थापाले बताउनुभयो । थापाका अनुसार काठमाडौँमा सम्पूर्ण स्थानको रोपाइँको स्थलगत तथ्याङ्कअनुसार हालसम्म ५० प्रतिशत खेतमा रोपाइँ सकिएको छ ।

प्रकाशित मिति: शनिबार, असार २८, २०७१