आइतवार, जेष्ठ १३, २०८१

बागलुङमा खेतीयोग्य जग्गा घट्दै

बागलुङ, २७ असार । बागलुङमा कृषि बाली लगाउने जग्गा घट्दै गएको छ । जग्गाको उपयोगसँगै कृषिचलनको क्षेत्रफल पनि घटेको पाइएको हो । २०५८ सालमा कृषिचलनको क्षेत्रफल ३३ हजार १५ हेक्टर रहेकोमा २०६८ सालमा घटेर ३० हजार ६८४ हेक्टरमा झरेको छ ।

राष्ट्रिय कृषि गणना २०६८ को तथ्याङ्कअनुसार २०५८ सालको तुलनामा जिल्लामा स्थायी बाली र अस्थायी बाली लगाउने क्षेत्रफल पनि क्रमशः १९ र २१ प्रतिशतले घटेको देखिएको छ ।
कृषि गणना २०६८ को नतिजाअनुसार कुल १८ हजार ३५७ हेक्टरअन्तर्गत १७ हजार ८३४ हेक्टर जग्गामा अस्थायी बाली लागेको देखिन्छ । २०५८ सालमा भने २२ हजार ५१८ हेक्टरमा अस्थायी बाली लगाइएको थियो ।
त्यस्तै स्थायी बाली लागेको १५ प्रतिशत, काठे तथा जङ्गलले ढाकेको ७ प्रतिशत, स्थायी चौरचरण १२ प्रतिशत रहेको छ जुन २०५८ को कृषि गणनामा क्रमशः १८, ३ र २ प्रतिशत थियो । यो आँकडालाई आधारमान्दा चौरचरण र वन क्षेत्र बढ्दै गएको छ भने स्थायी बाली लागेको क्षेत्रफल घटेको छ ।
तथ्याङ्कअनुसार स्थायी चौरचरण, निजी वनवनेलो र अन्य जग्गाको क्षेत्रफल बढ्दै गएको र कृषि उपयोगको जग्गा घट्दै गएको तथ्याङ्क कार्यालय बागलुङका अधिकृत निराजन शर्माले बताउनुभयो ।
भू–उपयोगका दृष्टिले २०५८ सालमा रहेको ३० हजार ७५८ हेक्टर क्षेत्रफलको कृषि जग्गा घटेर २०६८ मा २६ हजार ९९२ मा पुगेको छ । जुन अघिल्लो गणनाको तुलनामा ६ प्रतिशतले कमी हो ।
त्यस्तै खेतीयोग्य जग्गा अहिले १८ हजार ३५७ हेक्टरमा घटेको छ । विसं २०५८ को गणनाअनुसार जिल्लाको खेतीयोग्य जग्गा २३ हजार ९०८ हेक्टर थियो । भू–उपयोगको अवस्था विश्लेषण गर्दा कृषि जग्गाको उपयोग घट्दै जान थालेको अधिकृत शर्माले बताउनुभयो । खेतीयोग्य जग्गा घट्दै जाँदा यसले कृषि उत्पादनमा पनि ह्रास ल्याइरहेको उहाँको भनाइ छ ।
विसं २०६८ को कृषि गणनाको तथ्याङ्कले बागलुङमा खाद्यान्नबालीको उत्पादन पनि घट्दै गएको देखाएको छ । अघिल्लो गणना वर्ष २०५८ सालको तुलनामा धान उत्पादन १६, मकै २३, गहुँ ३१ र कोदो २४ प्रतिशतले घटेको छ । तरकारीबाली भने उल्लेख्यमात्रामा बढेको पाइएको छ ।
तरकारीबाली ६९ प्रतिशतले बढेको अधिकृत शर्माले जानकारी दिनुभयो । त्यस्तै केरा, सुन्तला र छरिएर रहेका फलफूलबाली उत्पादनमा भने वृद्धि भएको देखिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०७१