बिहिबार, बैशाख १३, २०८१

तरकारीका लागि पकेट क्षेत्र बन्दै हिरमिनिया

खजुरा (बाँके), २४ असार । बाँके जिल्लाको हिरमिनिया गाविस जिल्लामै व्यावसायिक तरकारीखेतीका लागि पकेट क्षेत्र बन्दै गएको छ । यहाँका अधिकांश किसान तरकारीखेतीतर्फ आकर्षित छन् । मौसमी र बेमौसमी तरकारीखेतीबाट मनग्य आम्दानी हुने भएपछि किसान त्यसतर्फ आकर्षित देखिएका हुन् । हिरमिनिया–९ का कासिम दर्जी तरकारीखेतीले यहाँका कृषकको जीवनमा सुधार ल्याएको बताउनुभयो । “तरकारीखेती गर्दा आफ्नो जीवनयापनमा निकै सुधार आएको पाएँ”, उहाँले भन्नुभयो, “भारतको कमाइभन्दा गाउँमै तरकारीखेती सुरु गर्दा बढी आम्दानी हुँदोरहेछ ।” आम्दानी र उत्पादन दुवै वृद्धि हुँंदै गएपछि अहिले हिरमिनियामा प्रायः कृषक तरकारीखेती गर्छन् । पानीको सिँचाइ नभए पनि बोरिङ पम्पबाट सिँचाइ गरेर तरकारीखेती गर्दै आएका छन् । यहाँका कृषकले अहिले भन्टा, खुर्सानी, बोडी, चमसुर, पालुङ्गो, धनियाँ, सिमी, फर्सी, मकै, पिँडालु, टमाटरलगायतका तरकारी लगाएका छन् । हिरमिनियामा प्रायः जमिन बर्सेनि तरकारीखेतीले हरियाली देखिने गर्छ । हिरमिनिया–९ का रिस्तीराम लोनिया व्यावसायिक तरकारीखती सुरु गर्न थालेको तीन वर्ष भयो । तरकारीखेतीको आम्दानीले उनले भारतीय राम्रो विद्यालयमा छोराछोरी पढाउँदै आएका छन् ।
यहाँ उत्पादित तरकारी नेपालगन्ज बजारसँगै भारतीय बजारमा पनि पुग्ने गर्छ । तरकारी सङ्कलनका लागि तरकारी उत्पादन सहकारी संस्था हिरमिनियाले प्याक्ट नेपालको सहयोगमा दुई कोठे भवन निर्माण बनाएको छ । ५०० भन्दा बढी क्विन्टल भण्डारण गर्ने क्षमता रहेको तरकारी सङ्कलन केन्द्र स्थापनापछि हिरमिनिया गाविसका किसानलाई उत्पादन बजारसम्म पु¥याउन सहज भएको छ । यातायातको सहज पहँुच नहँुदा उत्पादित तरकारीले सहजै बजार पाउन नसकेको स्थानीय किसानलाई अहिले सहज भएको छ । तरकारीको पकेट क्षेत्रका रूपमा घोषित हिरमिनियामा करिब ७०० हेक्टर जमिनमा तरकारीखेती हँुदै आएको छ ।        -कृषि साप्ताहिक

प्रकाशित मिति: मङ्लबार, असार २४, २०७१