शनिबार, बैशाख ८, २०८१

आलु भण्डारण कक्ष निर्माण

इलाम, २४ असार । पूर्वी इलामको पशुपतिनगर–७ बागबिरेका किसानले आफूले उत्पादन गरेको आलु भण्डारणका लागि ‘आलु भण्डार कक्ष’ निर्माण गरेका छन् । जिल्ला कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा यहाँको किरण कृषक समूहले भण्डारण कक्ष निर्माण गरेको हो । जिल्ला कृषि विकास कार्यालयको रू दुई लाख ७५ हजार र किसानको पनि सोही बराबर गरी पाँच लाख ५० हजारको लागतमा १० टन क्षमताको भण्डारण कक्ष निर्माण गरिएको हो । पाँच वर्षदेखि व्यावसायिक तरकारीखेती सुरू गरेका किसानलाई लक्षित गरी कार्यालयले सहयोग गरेको हो । उत्पादित आलु भण्डारण गर्न नपाउँदा किसानले उचित मूल्य पाएका थिएनन् । गत वर्षसम्म ८०० प्रतिमन आलु बिक्री गरे तापनि यसपटक प्रतिमन (४० किलोको एक मन) एक हजारका दरले बिक्री गरेका छन् । “भाउ घटेको बेला भण्डारण गरिन्छ, भाउ बढ्न थालेपछि बिक्री गर्न सुरू गरिन्छ”, किरण कृषक समूहका अध्यक्ष केशर तामाङले बताउनुभयो ।
यो वर्ष करिब दुई लाख बराबरको आलु बिक्री भएको छ । रोप्ने तथा बिक्री गर्ने समयमा आलुको अभाव हुन नदिन भण्डारण कक्ष निर्माण गरिएको समेत अध्यक्ष तामाङले बताउनुभयो । बिटे, सोलु जातको आलुखेती गरेका यहाँका एकै किसानले १०० मन आलु फलाउने गरेका छन् । आलु उत्पादनको पकेट क्षेत्रका रूपमा लिइएको यस गाविसमा किसानले हिउँदे र बर्खे आलु लगाउने गरेका छन् । उत्पादित आलु सीमावर्ती बजार पशुपतिनगरका साथै भारतको सिक्किम दार्जिलिङसम्म बिक्री हुन्छ ।   -कृषि साप्ताहिक

प्रकाशित मिति: मङ्लबार, असार २४, २०७१