शुक्रबार, चैत्र १६, २०८०

नहर भत्किँदा पाँच सय रोपनी खेत बाँझै

फलेवास (पर्वत), २४ असार । वातावरणीय प्रभाव मूल्याङ्कन नगरी अव्यवस्थित ढङ्गले ढुङ्गा, गिट्टी, बालुवा झिक्दा टकलाक टार सिँचाइ योजनाको नहरमा पानी जान छाडेको छ । मुहान गहिरिएर बर्सेनि खोलामा बाँध बनाउन नसक्दा सयौँ रोपनी खेत बाँझै हुने भएको हो । जिल्ला विकास समितिले ढुङ्गा, गिट्टी, बालुवामा कर लगाएर लाखौँ रुपैयाँ आर्जन गर्ने तर, नहरको मुहान संरक्षणमा कुनै चासो नदिँदा नहर सङ्कटमा परेको हो । जथाभावी ढङ्गले खोलामा स्काभेटर लगाएर ढुङ्गा तथा बालुवा झिक्दा बर्सेनि नहरको मुहान गहिरिँदै गएको र नहरमा पानी नचढ्ने भएपछि ५०० रोपनी खेत बाँझिने समस्या रहेको स्थानीयवासीको भनाइ छ । मुहान बिग्रिएसँगै लाखौँ रुपैयाँ खर्च गरी बनाइएको संरचना अलपत्र पर्ने अवस्थामा पुगेका छन् भने समयमा खेत रोपाइँ गर्नसमेत समस्या हुने गरेको स्थानीय पुण्यप्रसाद काफ्लेले बताउनुभयो ।
खोलाको ढुङ्गा, गिट्टी, बालुवा निश्चित परिमाणमा, वातावरणीय प्रभाव नपर्ने तथा स्काभेटरलगायतका मेसिन प्रयोग गरेर झिक्न नपाइने भए पनि ठेकेदारले जथाभावी रूपमा झिक्ने गरेको काफ्लेले बताउनुभयो । नहरको मुहान बिग्रिएको भन्दै पटक–पटक रोक्न आग्रह गरेको भए पनि स्थानीय प्रशासनले चासो नदिएको तथा ठेकेदारले मुहान नै भत्काएर सामान झिक्दा समस्या हुने गरेको स्थानीयवासीको भनाइ छ । हामीले पटक–पटक आग्रह ग¥यौँ तर सुनुवाइ भएन स्थानीय रुक्मागत न्यौपानेले भन्नुभयो, “जिल्ला तहबाट नै ठेकेदारलाई कडाइ नगरे आगामी वर्षदेखि कुलोमा पानी चढ्दैन ।’’ सामान्यतया बाह्रैमास कुलोमा पानी जाने गरेको भए पनि अहिले केही वर्षदेखि वर्षाको भेलबाहेक कुलोमा पानी नचढ्ने गरेको न्यौपानेले बताउनुभयो ।
पाँच किलोमिटर टाढा त्रिवेणीको अर्थुनबाट मुहान बनाई खेतमा लैजानुपर्ने बाध्यता भए पनि मुहान नै भत्किँदा समस्या भएको र कुनै निकायले पनि यसमा चासो नदिँदा सयौँ कृषक समस्यामा परेको स्थानीय श्यामलाल बस्यालले बताउनुभयो । नहरको निर्माणसँगै त्रिवेणी गाविसका केही भाग र टकलाक गाविसका सबै खेत सिँचाइ हुने गरेको थियो । हिउँदको समयमा पनि खेतमा सिँचाइ सुविधा हुने भएकाले विभिन्न हिउँदे खेतीसमेत हुने गरेकोमा मुहान गहिरिएसँगै हिउँदको समयमा सिँचाइ समस्या हुने गरेको छ भने वर्षाको समयमा पनि मुस्किलले सिँचाइ गर्नुपर्ने बाध्यता रहेको छ । जिल्लाका विभिन्न खोलाबाट जिल्ला विकास समितिले कर लगाएर लाखौँ रुपैयाँ आर्जन गर्ने गरेको भए पनि ती खोलामा वातावरणीय परीक्षण नगरी झिक्ने गरिएका कारण जलचल सङ्कटमा परेका छन् भने खोला गहिरिने समस्यासमेत बढेको छ ।        -कृषि साप्ताहिक

प्रकाशित मिति: मङ्लबार, असार २४, २०७१