बिहिबार, बैशाख १३, २०८१

गाईपालन व्यवसायबाट मासिक रु ३० हजार मुनाफा

नेपालगन्ज, २४ असार । बाँके जिल्ला रझेना गाविस–१ मैटहवाका कृषक दीपेन्द्र चौधरीले गाईपालन फार्म सञ्चालन गरेपछि उहाँ अहिले सफल कृषि व्यवसायीमा गनिनुहुन्छ । फार्ममा रहेका छ वटा जर्सी गाईले प्रत्येक दिन सरदर ५५ लिटर दूध दिने गरेको र सो दूध स्थानीय वनकटवा डेरीमा प्रतिलिटर रु २५ देखि ३१ सम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो । सबै खर्च कटाएर मासिक रु ४० हजारसम्म मुनाफा हासिल गरिरहनुभएका कृषक चौधरीले गाईपालन व्यवसायका लागि चर्चेको एक बिघा क्षेत्रफलमा गाईका लागि घाँसखेतीका साथै खाने तेलका लागि सूर्यमुखी फूलको खेती पनि गर्नुभएको छ । करिब २० वर्षसम्म समाज सेवामा होमिनुभएका व्यवसायी चौधरी अहिले पनि बाँके युनेस्को क्लबका महासचिव पदमा हुनुहुन्छ । सो फार्ममा जिल्ला पशुसेवा कार्यालयका प्राविधिकले आवश्यकताअनुसार गाईको जाँच गर्नुका साथै चिकित्सकीय सेवा उपलब्ध गराउँदै आएका छन् । चौधरीको फार्ममा अहिले तीन जनाले रोजगारीसमेत पाएका छन् ।   =कृषि साप्ताहिक

प्रकाशित मिति: मङ्लबार, असार २४, २०७१