आइतवार, फाल्गुन २०, २०८०

एक लाख ३५ हजार फलफूलका बिरुवा वितरण

चौतारा, २४ असार । जिल्ला कृषि विकास कार्यालय सिन्धुपाल्चोकले चालु आर्थिक वर्षको असार महिनामा किसानलाई विभिन्न प्रजातिका एक लाख ३५ हजार ८३ फलफूलका बिरुवा वितरण गरेको छ । जिल्लाका कृषि सहकारी तथा कृषक समूहमार्फत प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण गरिएको हो । वितरित फलफूलका बिरुवामा विभिन्न जातका आँप ६८३, सुन्तला दुई हजार ४००, अनार ३०० र अलैँची एक लाख ३१ हजार ७० रहेको वरिष्ठ कृषि विकास अधिकृत ईश्वरीप्रसाद पाण्डेले बताउनुभयो । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने अत्तरपुर र चोकटी गाविसलाई अलँैचीको पकेट क्षेत्र मानिएको छ । चोकटीमा अलैँची सुकाउने भट्टीसमेत स्थापना भइसकेको हुँदा ती दुई गाविसमा डाँडापाखर कृषि सेवा केन्द्रमार्फत २१ हजार अलैँचीका बिरुवा वितरण गरिएको कृषि प्रसार अधिकृत यादव सापकोटाले जानकारी दिनुभयो । यसैबीच जिल्लामा यस वर्ष वर्षात् नभए पछि आजसम्म ३० प्रतिशत मात्र रोपाइँ भएको अधिकृत सापकोटाले बताउनुभयो । जिल्लामा यस वर्ष कुल १२ हजार २५० हेक्टरमा धानखेती लगाइने कार्यक्रम रहेको छ ।

-कृषि साप्ताहिक

प्रकाशित मिति: मङ्लबार, असार २४, २०७१