शुक्रबार, बैशाख ७, २०८१

नयाँ प्रविधिबाट भाइरसमुक्त आलुको बीउ उत्पादन

बनेपा, २३ असार । काभ्रेपलाञ्चोक जिल्लाको उग्रचन्डीनाला गाविसमा नयाँ प्रविधिबाट भाइरसमुक्त आलुको बीउ उत्पादन सुरु भएको छ । प्रमुख नगदे बालीका रूपमा रहेको आलुको मूल बीउ पर्याप्तमात्रामा उपलब्ध नभएपछि टिस्यु कल्चर प्रविधि (प्रयोगशाला)बाट आलुको बीउको उत्पादन सुरु भएको प्रगतिशील कृषक युवा समूहका उपाध्यक्ष किरण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले आलुको जनकदेव, बेजिरे, कार्डिनल, खुमल सेतो, खुमललक्ष्मी, खुमल उज्जवललगायतका करिब आठवटा उन्नत जातका आलुको बीउको उत्पादन केही महिना अघिदेखि भइरहेको उल्लेख गर्दै अहिलेसम्म झन्डै १३ वटा जिल्लामा पठाइएको बताउनुभयो ।
कृषकले कस्तो आलुको बीउ माग गर्नुहुन्छ, मागअनुसार हामीले आलुको बीउ उत्पादन गर्छौं उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, । उहाँले सो प्रविधिबाट उत्पादन भएको आलुमा भाइरस नलाग्ने उल्लेख गर्दै अहिले करिब एक लाख १० हजार दाना आलुको बीउ उत्पादन भएको छ भन्नुभयो । कुल रु ५५ लाखको लगानी भएको सो प्रविधिमा कृषि व्यापार आयोजना (प्याक्ट)को रु २२ लाख, जिल्ला विकास समितिको रु २० लाख र अन्य प्रगतिशील कृषक युवा समूहबाट लगानी भएको छ । आलुको बीउ उत्पादन गरिरहनुभएका प्राविधिक रोशन श्रेष्ठले एउटै जातको आलुको निरन्तर खेती गर्दा माटोका कारणले आलुमा रोग लाग्ने उल्लेख गर्दै त्यसको विकल्पमा नयाँ जातको आलु लगाउनुपर्ने सुझाव कृषकलाई दिनुभयो । उहाँले सो प्रविधिबाट उत्पादन भएको आलुको बीउ एकपटक प्रयोगमा ल्याएपछि पाँच पटकसम्म प्रयोगमा ल्याउन मिल्ने जानकारी दिँदै कृषकका लागि वैकल्पिक आलुको बीउ पिभिएस आलु हो भन्नुभयो । हामी केही तालिम लिएर र केहीले विदेश गएर पढेर आएर यो काम सुरु गरेका छाँै प्रगतिशील कृषक युवा समूहका उपाध्यक्ष श्रेष्ठले भन्नुभयो । युवा कृषकले एक रोपनी क्षेत्रफल जमिन २० वर्षका लागि लिजमा लिएर आलुको बीउ उत्पादन गरेका छन् । जिल्लाको १० हजार ५०० हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आएको छ ।             – कृषि साप्ताहिक

प्रकाशित मिति: सोमवार, असार २३, २०७१