शुक्रबार, बैशाख ७, २०८१

काभ्रेपलाञ्चोकमा हाते ट्र्याक्टरको सिफारिस रोक्का

बनेपा, २३ असार । कृषकलाई अनुदानमा प्रदान गरिने हाते ट्र्याक्टरको सिफारिस यहाँ रोक्का भएको छ । काभ्रेपलाञ्चोकका लागि आएको हाते ट्र्याक्टरभन्दा तेब्बर बढी सहकारी संस्था, कृषक समूहले माग गरेपछि तत्कालका लागि सिफारिस रोक्का भएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत सहदेवप्रसाद हुमागाईंले जानकारी दिनुभयो । थप बजेटको व्यवस्था भएमा सिफारिस खुल्ला गरिनेछ उहाँले भन्नुभयो । कृषि विकास कार्यालयका अनुसार अहिलेसम्म झन्डै महादेवस्थान, उग्रचण्डीनाला, रविओपी, पाँचखाल, फुलबारी, कुशादेवीलगायतका क्षेत्रमा ४५० कृषकले हाते ट्र्याक्टरका फारम भरेका छन् । कृषि अधिकृत हुमागाईंले झन्डै ८० वटा विभिन्न किसिमका हाते ट्र्याक्टरका लागि कुल रु ४० लाख ६० हजार बजेट जिल्लामा आएको र त्यो पर्याप्त नभएको बताउनुभयो । जिल्ला कृषि कार्यालयले कृषि इन्जिनियरिङ निर्देशनालयमार्फत ५० प्रतिशत अनुदानमा पावर ट्रेलर र मिनी पावर ट्रेलर हाते ट्र्याक्टर कृषकलाई उपलब्ध गराउने तयारीमा थियो । सो ट्र्याक्टरको बजार मूल्य रु ४० हजारदेखि रु एक लाख ३५ हजार पर्छ । यसअघि कृषि विकास कार्यालयले विभिन्न गाविसका झन्डै एक दर्जन कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको थियो ।     -कृषि साप्ताहिक

प्रकाशित मिति: सोमवार, असार २३, २०७१