बिहिबार, चैत्र १५, २०८०

अनुगमनकै बीचमा सार्वजनिक सुनुवाइ

जुम्ला, २३ असार । जिल्ला कृषि विकास कार्यालय जुम्लाको नेतृत्वमा कृषि तथा खाद्य सुरक्षा परियोजनाको बहु क्षेत्रगत संयुक्त अनुगमन गरी अनुगमन स्थलमा नै त्यसको सार्वजनिक सुनुवाइ गरिएको छ । जिल्लाको रारालिही, कुडारी तातोपानी, लाम्रा, तलिउम र तत्कालीन महत गाविसमा सम्पन्न गरिएको साना सिँचाइ, सहकारी खेती, बीज वृद्धि, स्याउ आत्मनिर्भर कार्यक्रमबाट नयाँ बगैँचा स्थापना स्याउ नर्सरी, सामूहिक स्याउखेती, सङ्कलन केन्द्र, सहकारी भवन, सामूहिक स्याउ बगँैचा, कृषक पाठाशाला र बाली उत्पादन प्रदर्शन, त्रिवेणी गाईपालन उद्योगलगायतका योजनाको संयुक्त अनुगमनपश्चात् सीता मावि रारालिही जुम्लामा उपभोक्ता, राजनीतिक दल, सरोकारवाला निकाय र सञ्चारकर्मीका बीचमा सार्वजनिक सुनुवाइ गरिएको हो । सो सार्वजनकि सुनुवाइमा जिल्ला कृषि विकास कार्यालय जुम्लाका कृषि प्रसार अधिकृत धनबहादुर कठायतले परियोजनाका लागि अख्तियारप्राप्त रु १५ लाख ७१ हजारमा रु १० लाख ७५ हजार ७७८ खर्च भएको र बाँकी राज्य कोषमा नै फिर्ता पठाउनुपर्ने बाध्यता तेर्सिएको बताउनुभयो ।
विनियोजित बजेटको नम्समा रहेर नै काम गर्दा समुदायमा बीउ उत्पादन सहयोग पाठशालाका लागि निकासा भएको एक लाख ८४ हजार जिल्लामा बीउ सहजकर्ता नभएका कारण एक पैसा पनि खर्च गर्न नसकिएको उहाँको भनाइ थियो । अनुगमन तथा सार्वजनिक सुनुवाइका क्रममा कृषि प्रसार अधिकृत धनबहादुर कठायतले परियोजनाको शीर्षक ११ वटा भए पनि १० वटामात्र पूरा गर्न सफल भएको बताउनुभयो । यता उपभोक्ताले साना योजना भए पनि यसले ठूलो सहयोग पु¥याएको बताएका थिए । लामागाड गुडेनी फलफूल समूहका अध्यक्ष भक्तबहादुर बुढाले कृषिले सिँचाइमा गरेको सहयोगबाट आफ्ना दीर्घकालीन आयआर्जनलाई सुनिश्चित गर्ने बताउनुभयो । अनुगमन गरिएका बहु क्षेत्रमा स्थानीय वस्तु उत्पादित सङ्कलन केन्द्र, कोल्डस्टोर तथा सहकारी प्रयोग नआएको गैसस महासङ्घ जुम्लाका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताउनुभयो । स्याउ आत्मनिर्भर कार्यक्रममा बढी समस्या सिँचाइ नै भएकाले त्यसमा जोड दिई सहयोग गर्न कृषकले अनुरोध गरेका थिए । अनुगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, कृषि, वन, सिँचाइ डिभिजन, कृषि अनुसन्धान, बागवानी विकास केन्द्र, जिल्लाका प्राङ्गारिक समूह, डिभिजन सहकारी जुम्ला, राजनीतिक दल, गैरसरकारी संस्था महासङ्घ र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।   -कृषि साप्ताहिक

प्रकाशित मिति: सोमवार, असार २३, २०७१