शुक्रबार, चैत्र १६, २०८०

लामो आन्दोलनले कृषकहरुलाई ठूलो क्षति

ललितपुर, २१ असार । नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन केन्द्रीय सङ्घर्ष समितिको लामो आन्दोलनले कृषकलाई ठूलो क्षति पुगेको छ । नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसनका संयोजक रामप्रसाद मेहताका अनुसार नौ दिन लामो आन्दोलनले गर्दा १० हजार गाईभैँसीले कृतिम गर्भाधान प्रक्रिया नहुनुको साथै ५५ वटा पशु मरेका छन् । उहाँका अनुसार मकवानपुर, नवलपरासी, गुल्मीलगायत जिल्लामा ५५ वटा गाई भैँसी र २० वटा बङ्गुर र बाख्रा मरेका छन् । यही असार ३ गतेदेखि पशु सेवा विभागको परिसरमा शान्तिपूर्ण धर्ना दिएर सुरु गरेको आन्दोलन १० गतेदेखि ७५ वटै जिल्लाका पशु सेवा सम्बन्धित कार्यालयको कामकाज ठप्प गरी विरोधका कार्यक्रमहरु सञ्चालन गरिंदै आएको छ । त्यो समयमा पशु स्वास्थ्यको काम नगरिएकाले ती पशु स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको संयोजक मेहताले बताउनुभयो ।
उहाँका अनुसार नेपालमा वार्षिक चार लाख गाई भैँसीलाई कृत्रिम गर्भाधान गराउँदै आइएको छ । यसरी यी जनावरहरुले सेवा नपाउँदा प्रत्यक्षरुपमा दूध उत्पादनमा असर परेको छ । हाल देशभरमा ३९ जिल्लामा पशुलाई कृतिम गर्भाधान गराइँदै आइएको छ ।  विभागमा पशु चिकित्सा परिषद् ऐन, २०५५ को परिमार्जित एकीकृत मस्यौदा २०७० तत्काल पारित गरी लागू गर्नुपर्ने, भेटेरिनरी चिकित्सक गााउँगाउँमा सेवा दिन जानुपर्ने, पाँच प्रतिशत ब्याजदरमा कृषि ऋणको व्यवस्था गरिनुपर्ने, कृषि र पशुपालन क्षेत्रको बजेटमा वृद्धि गर्नुपर्नेलगायतका नौबुँदे माग राखेर उनीहरुले कामकाज ठप्प पारेका छन् । समस्या समाधानको लागि गत असार १९ गते कृषि विकास मन्त्रालय र नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसनबीच विरोधका कार्यक्रम स्थगित गरी सातबँुदे सहमतिसहित सेवा सुचारु भने  भइसकेको छ । – कृषि साप्ताहिक

प्रकाशित मिति: आइतवार, असार २२, २०७१