बिहिबार, जेष्ठ १७, २०८१

माझठानामा सुगन्धित जडीबुटी मेन्था तेल उत्पादन

HB-Pokhara-Oilनिर्वाहमुखी खेती गर्दै आएका कास्की जिल्लाको माझठाना गाविस–६ स्याङ्खुदीका कृषकहरुले यतिखेर भने व्यावसायिक जडीबुटी खेतीसँगै मेन्था सुगन्धित तेल उत्पादन सुरु गरेका छन् । घरपालुवा वस्तु एवम् जङ्गली जनावरले नखाने, असिनाले समेत खासै नोक्सान  नगर्ने र उत्पादित सुगन्धित तेल बिक्रीबाट मनग्य आम्दानी गर्न सकिने भएपछि उनीहरु सो खेतीतर्फ लागेका हुन् । यो क्षेत्र नेपालकै धेरै असिना पर्ने ठाउँ भएकाले वर्षेनी किसानहरु राम्रोसँग बालीनाली भित्र्याउन पाउँदैनन् । परीक्षणका रुपमा पहिलोपटक कृषकले २० रोपनी जग्गामा लगाइएको मेन्था फस्टाएपछि प्रशोधन गरी ३२ लिटर तेल उत्पादन भएको र बिक्रीबाट रु ९६ हजार आम्दानी गर्न सफल भएको स्याङ्खुदी कृषि सहकारी संस्थाका अध्यक्ष भोजराज भुर्तेलले बताउनुहुन्छ । पहेँलो रङको चिल्लोपना नहुने बास्नादार सो तेलमा ८० प्रतिशत मेन्थोल हुने भएकाले यसलाई विशेष गरी दुःखाई कम गर्ने मलम, खोकीको ट्याब्लेट, दम र ग्यास्टिकको औषधिको रुपमा प्रयोग हुनुको साथै तमाखु, चुरोट, पानमसला, पेय पदार्थ एवम् खाद्य प्रशोधनका सामग्रीमा प्रयोग हुने गर्दछ । करिब ८५ सेन्टिमिटर उचाइ हुने होचो कदको एकवर्षे सुगन्धित मेन्थाको गानोबाट बिरुवा उत्पादन गरिन्छ भने जमिनमाथिको सबै भाग प्रशोधन गरी तेल उत्पादन गर्न सकिने भुर्तेल बताउनुहुन्छ । सिँचाइको आवश्यक पर्ने सो खेती धान बाली थन्क्याएपछि लगाइन्छ  ।
उक्त सुगन्धित जडीबुटी मेन्थाको सक्करलाई गाई वा भँैसीको पिसाबमा ४० मिनेटसम्म भिजाएर रोप्दा ७० प्रतिशत मेन्थाको बोटमा फूलफुल्ने हुन्छ र तेल उत्पादनमा समेत ३० प्रतिशतले वृद्धि हुने गरेको एक अध्ययनले देखाएको छ । कम मिहिनेतमा बढी आम्दानी लिन सकिने र सुगन्धित एवम् औषधीय महत्व राख्ने यस तेलको बजार राम्रो भएको हुँदा सो क्षेत्रका कृषकले मेन्था खेतीलाई अभियानका रुपमा विस्तार गरेका छन् । उनीहरुले यस वर्ष झन्डै ७० रोपनी जग्गामा ३५ हजार बिरुवा रोपेको कृषक बताउँछन् । कृषकले विश्व बजारमा उच्च मूल्य रहेको क्यामोमिलको खेतीसमेत सुरु गरेका छन् । जसबाट उच्चस्तरका शृङ्गारका सामग्रीका साथै तारे होटलमा चियाका रुपमा प्रयोग गरिँदै आएको छ । सो तेलको हाल बजार मूल्य प्रतिलिटर रु ४० हजारभन्दा बढी पर्दछ । सो क्षेत्रका कृषकले मेन्था र क्यामोमिलका साथै सुक्खा र भिरालो पाखोमा लगाइने अर्को बहुवर्से सुगन्धित बाली सिट्रोनेलालाई पनि व्यावसायिकता दिन थालेका छन् । उनीहरुले गत वर्ष एक लाखभन्दा बढी बिरुवा रोपेका थिए । जुन तेलबाट किटनाशक औषधि, साबुन, डिटरजेन्ट पाउडर, लामखुट्टे भगाउने धुप, भुईं सफा गर्ने साबुन, सर्फलगायतका सुगन्धित वस्तुहरु उत्पादन गरिन्छ ।
बेगनास तालको उत्तरी भेगमा पर्ने सो स्थानका कृषकले मेन्था, सिट्रोनेला र क्यामोमिलका साथै  लेमनग्रास, पामारोजा, सुगन्धवाल, तेजपातलगायतका विभिन्न जातका सुगन्धित जडीबुटी खेती विस्तार अभियानमा जुटेका छन् । जलवायु परिवर्तन अनुकूलनका प्रयास कार्यक्रमअन्तर्गत अमेरिकी सहयोग नियोग (युएसएआइडी) को आर्थिक सहयोग एवम् स्याङ्खुदी कृषि सहकारी संस्थाको सक्रियता तथा  आइडिई नेपाल, रिम नेपाल र रुपान्तरण नामक गैरसरकारी संस्थाको प्राविधिक सहयोगमा सो क्षेत्रका कृषकले सुगन्धित जडीबुटी खेतीलाई व्यावसायिकता दिन थालेका हुन् । सोही स्थानमा रु आठ लाखको लागतमा प्रशोधन केन्द्रसमेत स्थापना गरी सञ्चालनमा ल्याइएको छ । कास्कीकै लाहाचोक गाविस र स्याङ्जाको केही स्थानामा लगाइएको मेन्थाले राम्रो उत्पादन भएको छ भने पर्वत जिल्लाको मल्याङ्कोट गाविसमा जङ्गलमा पाइने धसिंग्रे (मछिनो) प्रशोधन सुरु गरिएको आइडी नेपाल क्षेत्रीय गैरकाष्ट वन पैदावार अधिकृत सूर्य खड्काले जानकारी दिनुभयो । तराईका नवलपरासी, बर्दिया, रुपन्देही, पर्सा, बारा, बाँके, कैलाली, रुपन्देही, कपिलवस्तुलगायतका विभिन्न जिल्लामा व्यावसायिक रुपमा सुगन्धित जडीबुटी खेती फस्टाएपछि पहाडी क्षेत्रमा पहिलोपटक माझठानाको स्याङ्खुदीबाट सुरु गरिएको उहाँ बताउनुहुन्छ । सो संस्थामार्फत हालसम्म २२ वटा प्रशोधन केन्द्र स्थापना गरी सञ्चालनमा आएका छन् । जलवायु परिवर्तनका कारण मुलुकको पहाडी क्षेत्रमा अत्यधिक रुपमा बाँदरको सङ्ख्यामा वृद्धि भई बस्तीमा प्रवेश गरी कृषकलाई दुःख दिने गरेको वर्तमान अवस्थामा बाँदरले नखाने   सुगन्धित जडीबुटी खेतीलाई विस्तार गर्न सके किसानको जीविकोपार्जनका साथै वातावरणमा समेत सुधार आउने सामुदायिक वन उपभोक्ता महासङ्घ कास्कीका अध्यक्ष कालीदास सुवेदी बताउनुहुन्छ । सो सहकारीमा हाल १०५ जना सदस्य आबद्ध रहेका छन् ।
नेपालमा गत आर्थिक वर्षमा ५०० हेक्टर क्षेत्रफलमा लगाइएको सुगन्धित जडीबुटीको खेतीबाट रु सात करोड मूल्य बराबरको २०० टन तेल उत्पादन भएको र उत्पादित तेलको १० प्रतिशत स्वदेशी उद्योगमा खपत भएको थियो भने बाँकी भारतलगायत युरोपका विभिन्न देशहरुमा निकासी भएको आइडिई नेपालका जडीबुटी कार्यक्रम संयोजक विजयमान स्थापितले जानकारी दिनुभयो । विश्व बजारमा सुगन्धित तेलको बढ्दो माग र आकर्षित मूल्यलाई अवसरका रुपमा लिई यसको दिगो विकासका लागि सामुदायिक वन समूह, पहाडी क्षेत्रमा बाँझिएका जग्गाहरुमा यस्ता जडीबुटी खेती गर्न सके स्थानीयस्तरमा रोजगारको सिर्जनासहित तेल बिक्रीबाट वैदेशिक मुद्रा आर्जनको थप आधार बन्न सक्ने विज्ञहरु बताउँछन् । -हरि बास्तोला /-कृषि साप्ताहिक

प्रकाशित मिति: आइतवार, असार २२, २०७१