मङ्लबार, बैशाख ११, २०८१

सिँचाइ सुविधाले कृषक उत्साहित

सिन्धुलीमाढी, २१ असार । सिन्धुलीको सुमनाम पोखरी गाँउ विकास समितिमा चारवटा सिँचाइ कुलो निर्माण सम्पन्न पश्चात स्थानीय कृषक उत्साहित भएका छन् । स्थानीय बासिन्दाको जनश्रमदानसहित गरिबी निवारण कोषको आर्थिक सहयोगमा सिँचाइ कुलो निर्माणले समयमा नै धान रोप्न पानीको सुविधा भएपछि स्थानीय कृषक उत्साहित भएका छन् । यहाँका कृषक गत वर्ष सिँचाइको अभावमा मकै र कोदोबालीको भरमा दैनिक गुजारा चलाउन बाध्य थिए । गरिबी निवारण कोषको कार्यक्रम सञ्चालन अन्तर्गत चारवटा सिँचाइ कुलो निर्माण भए पश्चात अहिले गाउँमा रहेका अधिकांश घरपरिवार खेतमा धान रोप्न व्यस्त भएको उल्लेख गर्दै सिँचाइ कुलो निर्माण समितिका अध्यक्ष झिल्के सार्कीले भन्नुभयो, “दैनिक गुजाराका लागि अर्काको खेतबारीमा मेलापात जानुपर्ने बाध्यताबाट छुटकारा मिलेको छ ।”
सामुदायिक संस्थाको माग बमोजिम गाउँमा सिँचाइ कुलो निर्माणका लागि गरिबी निवारण कोषबाट रु चार लाख ३२ हजार ९०४ र स्थानीयको रु एक लाख १५ हजार बराबरको जनश्रमदानसहित रु पाँच लाख ४८ हजारको लागतमा सिँचाइ कुलो निर्माण सम्पन्न भएको स्थानीय विकास कोष समितिको सचिवालयका कार्यक्रम संयोजक यादव आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘सिँचाइ कुलोबाट २६६ घरपरिवारको करिब ४०० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ ।” सुक्खा तथा पाखो जमिनमा परम्परागत रूपले खेती गर्न बाध्य किसान अहिले सिँचाइ सुविधा पुगे पश्चात मौसमी तथा बेमौसमी तरकारीखेतीतर्फ समेत आकर्षित देखिएको स्थानीय विकास कोष समिति सचिवालयले जनाएको छ । -कृ.सा.

प्रकाशित मिति: शनिबार, असार २१, २०७१