शनिबार, बैशाख १, २०८१

प्राङ्गारिक बिक्री केन्द्रको स्थापना गर्न माग

काठमाडौँ, २१ असार । किसानले सरकारसँग छुट्टै प्राङ्गारिक तरकारी बिक्री केन्द्रको स्थापना गर्न माग गरेका छन् । उनीहरूले अवदेखि प्राङ्गारिक तरकारी सस्तो मूल्यमा बिक्री नगर्नेसमेत बताएका छन् । उपभोक्ताको हितलाई ध्यानमा राखी आवश्यक स्थानमा तरकारी केन्द्रको स्थापना गर्न सकिने कुरा कृषि विकास मन्त्रालयले तयार पारेको बजेट तथा कार्यक्रममा उल्लेख भएपनि आजसम्म सो केन्द्र स्थापना भएको छैन । स्थानीय स्वायत्त शासान ऐन २०५३ ले नगरपालिकातथा गाविसले उपभोक्ताको हितलाई ध्यानमा राखी केन्द्रको बन्दोबस्त गर्न सक्ने भने पनि हालसम्म केन्द्र स्थापना हुन नसक्दा उपभोक्ताले चाहेर पनि प्राङ्गारिक तरकारी खान पाएका छैनन् । त्यस्तौ तरकारी खानाले पेट नपोल्ने, वाकवाकी नलाग्ने, बेहोस नहुने र थरिथरिका रोग नलाग्ने चिकित्सकको भनाइ छ ।  त्यस्तो तरकारी उत्पादनमा बढी मेहनत पर्न जाने भएकाले सस्तो मूल्यमा तरकारी बिक्री नगर्ने बरु उल्टै प्राङ्गारिक मल बनाउने कारखानामा तरकारी पठाउने सोचाइमा किसान पुगेका छन् ।
हाल काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालामा खराब तरकारी र कुहिन सक्ने फोहर जम्मा गरी प्राङ्गारिक मल बनाउने कारखाना स्थापना भएको छ । उक्त कारखानाले काठमाडौंँको कालीमाटी तथा बनेपाको तरकारी बजार एवम् स्थानीय नगरपालिकामा मिल्काइएका खराब तरकारी जम्मा गर्न थालको छ । उक्त वस्तुबाट कारखानाले मल बनाउने कार्यको थालनी गरिसकेको लगानीकर्ता निर्मला श्रेष्ठले बताउनुभयो । त्यस्तो तरकारीको महत्व बुझेका प्रशस्त ग्रहाक भए पनि उनीहरूले सरल तरिकाले तरकारी खरिद गर्ने बिक्री स्थान नभेटेकाले खान नपाएको एकथरि किसानको भनाइ छ । उपभोक्ता तारा श्रेष्ठ अलग ढङ्गको प्राङ्गारिक तरकारी बिक्री केन्द्रको स्थापना नहुँदा आफूहरू तरकारी बिक्री केन्द्र पुग्दा अलमलमा पर्ने गरेको बताउनुहुन्छ । उपभोक्ता प्राङ्गारिक हो वा होइन छुट्टाउन सक्दैनन् । झट्ट हेर्दा राम्रो र आकर्षक हुँदैमा उक्त तरकारी प्राङ्गारिक हुन नसक्ने कृषिविज्ञ तिलक चौलागाईंंको भनाइ छ ।
जैविक विषादि र प्राङ्गारिक मलको प्रयोगबाट उत्पादन गरिएका तरकारीलाई प्राङ्गारिक तरकारी भनिन्छ । जैविक विषादी भन्नाले गाईको पिसाब, तितेपाती, टिम्मुर तथा खरानी पानीको झोल, सिस्नुलगायत मानिन्छ । जैविक विषादीको प्रयोगबाट उत्पादित तरकारी झट्ट हेर्दा आकर्षक नदेखिए पनि स्वास्थ्यवद्र्धक हुने र मानव शरीरलाई हानि नपु¥याउने कृषिअर्थविज्ञ कलसराम चौधरीको भनाइ छ । केही वर्षदेखि सरकारले प्राङ्गारिक उत्पादनमा जोड दिने नीति ल्याइए पनि सो कार्य प्रभावकारी हुन नसक्दा उपभोक्ता मारमा परेका छन् । एकातिर विषादी प्रयोग गरेका तरकारी खान उपभोक्ता बाध्य छन् भने अर्कातिर सरकार तथा स्थानीय निकायले प्राङ्गारिक बिक्री केन्द्रको स्थापनामा ध्यान नदिँदा उपभोक्ता मारमा परेका छन् ।     नेपालमा प्रत्येक वर्ष ३५० मेट्रिक टन विषादी भित्रने गरेकामा ८५ प्रतिशत तरकारीमा मात्रै प्रयोग हुने बाली संरक्षण निर्देशनालयको तथ्याङ्क छ । पछिल्लो समयमा बजारमा चलेको वर्णशङ्कर बीउबिजनबाट उत्पादन बढी हुने भए पनि त्यसलाई रोग र किराले बढी आक्रमण गर्ने गरेको प्रयोगकर्ताले गुनासो गरेका छन् । बढी फलाउने र छिट्टै नाफा कमाउने लोभले किसानले विषादीको प्रयोग गरी तरकारी उत्पादनलाई बढावा दिएपछि सरकारले प्राङ्गारिक उत्पादनमा जोड दिने उद्देश्यले विभिन्न कार्यक्रम अगाडि ल्याएको छ । यद्यपि सो कार्य प्रभावकारी हुन सकेको छैन । शत्रु जीव बढ्दै गएको तथा मित्रजीव विनाशप्रायः भइरहेको छ । -राजाराम कार्की

प्रकाशित मिति: शनिबार, असार २१, २०७१