बिहिबार, बैशाख १३, २०८१

भक्तपुरमा ७० प्रतिशत खेत बाँझै

भक्तपुर, १६ असार । विगतका वर्षहरूमा अहिलेसम्म भक्तपुरका अधिकांश खेतमा रोपाइँ सकिन्थ्यो । गत वर्ष जिल्लाको ८० प्रतिशत रोपाइँ सकिसक्ने बेलासम्ममा यस वर्ष भने भक्तपुरमा ३० प्रतिशत रोपाइँ पनि सकिएको छैन ।

bajoयस वर्ष वर्षा सुरु भइसक्दा पनि अझै रोपाइँ गर्न पर्याप्त पानी नपरेपछि भक्तपुरका रोपाइँ गर्ने ७० प्रतिशत जमिन बाँझो रहेको छ ।
जिल्ला कृषि विकास कार्यालय भक्तपुरका अनुसार अधिकांँश आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने भक्तपुरका खेत वर्षा नभएका कारण बाँझै भएका हुन् ।
खोला बग्ने भएकाले खोला आसपासका जग्गामा पानी तानेर रोपाइँ गर्नेबाहेक अन्य जमिनमा रोपाइँ हुन नसकेको कार्यालयले जनाएको छ ।
जिल्लाको भक्तपुर र थिमी दुवै नगरपालिकामा १० प्रतिशतभन्दा बढी रोपाइँ हुन नसकेको भक्तपुर नगरपालिका १७ दूधपाटीका किसान रामगोपाल सुवालले बताउनुभयो । विगतका वर्षमा नगरका खेतको रोपाइँ सकिसक्ने भए पनि यस वर्ष भने अझै रोपाइँ हुन नसकेको सुवालले जानकारी दिनुभयो ।
जिल्लाको बागेश्वरी, ताथली, सिपाडोल र नंखेलका खोला किनारमा रहेका करिब १५ प्रतिशत जमिनमा रोपाइँ भए पनि अन्य क्षेत्रको रोपाइँ भने अझै हुन सकेको छैन ।
रोपाइँ हुन नसकेपछि ब्याडमा रहेको धानको बीउ मर्न थालेको कृषि विकास कार्यालयले जनाएको छ । धानको बीउ पनि किराले काट्ने रोग लागेपछि किसानलाई थप समस्या आएको कृषकको भनाइ छ ।

प्रकाशित मिति: सोमवार, असार १६, २०७१