मङ्लबार, अशोज ९, २०८०

सामूहिक सहकारी र करार खेतीलाई प्रोत्साहन

काठमाडौँ, १६ असार । सरकारले कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूति गर्न सामूहिक सहकारी र करार खेतीलाई प्रोत्साहन गर्ने भएको छ ।
राष्ट्रपति डा रामवरण यादवले संविधानसभाको व्यवस्थापिका–संसदको बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आव २०७१÷०७२ को नीति तथा कार्यक्रममा त्यसप्रकारका खेतीलाई प्रोत्साहन गर्न लागिएको हो । व्यावसायिक कृषि उत्पादनमा विशेष जोड दिइने, कृषिको विकास र रूपान्तरणका लागि कृषि क्रान्ति दशक घोषणा गरी आत्मनिर्भरको नीति अवलम्बन गरिने, उत्पादन सामग्री, प्रसार सेवा, प्रविधि र कर्जा प्रवाहमा कृषकको सहज पहुँच गराउँदै यान्त्रिकीकरणलाई प्रोत्साहन गरिने भएको हो ।
काठमाडौँ–तराई। मधेस द्रुतमार्ग निर्माण गरिने, मिथिला क्षेत्र सडक सुधार एवम् बृहत् जनकपुर परिक्रमा सडक निर्माण गरिने भएको छ । सडकको गुणस्तरीयता र दिगोपनाका लागि दश वर्षसम्म निर्माणकर्तालाई नै मर्मतसम्भारको ठेक्का दिने, काठमाडौँको सडक विस्तार कार्यक्रमलाई उच्च प्राथमिकता दिइने, चक्रपथ विस्तारका साथै रणनीतिक सडकमा नियमित, पटके र आकस्मिक मर्मत, पुनःनिर्माण तथा पुनःस्थापनासम्बन्धी कार्य गरिने भएको छ ।
यातायात प्रशासनलाई स्वच्छ, पारदर्शी, र छरितो बनाउन सवारी दर्ता प्रमाणपत्र र सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्डमा रूपान्तरण गरिने, चालक अनुमति प्रमाणपत्रमा सुधार गरिने, राजमार्ग किनारामा मदिरा राख्ने कार्यलाई निरुत्साहन गर्न कानुन बनाइने, यातायातको सिन्डिकेटलाई पूर्ण बन्देज गरिने र वातावरणमैत्री सवारी तथा यातायात नीति कार्यान्वयनमा ल्याइने उल्लेख छ ।
यसैगरी आगामी तीन वर्षमा सम्पूर्ण नेपालीलाई आधारभूत खानेपानी तथा सरसफाइ सुविधा पु¥याउने गरी चालु र पुनःनिर्माण गर्नुपर्ने आयोजना द्रूत गतिमा अघि बढाइने छ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ एवम् पानी प्रशोधन केन्द्र निर्माणलाई थप तीव्रता दिई निर्धारित समयमा पूरा गरिने उल्लेख छ ।

प्रकाशित मिति: सोमवार, असार १६, २०७१