बिहिबार, बैशाख १३, २०८१

वर्षा नभएपछि रोपाइँ हुन सकेन

बाँके, १५ असार । वर्षा नभएपछि पश्चिम नेपालको बाँकेलगायतका जिल्लामा अझै रोपाइँ हुन सकेको छैन ।

समयमा पानी नपर्दा अन्न भण्डारका रूपमा चिनिएको पश्चिम तराईमा धानखेती प्रभावित हुने भएको छ । असारको १५ लाग्दा पनि बाँकेमा रोपाइँ शून्य प्रतिशत रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । ब्याड पनि २५ प्रतिशत किसानले मात्र राख्न भ्याएका छन् । करिब दुई साताअघि वर्षा भई केही किसानले धानको ब्याड राखेको भएपनि अझै ७५ प्रतिशत किसानले धानको ब्याड राख्न नपाएका बाली विकास अधिकृत हसमुल्लाह खाँले बताउनुभयो । जिल्लामा साढे ३६ हजार हेक्टर जमिनमा धानखेती हुँदै आएको छ । यस्तै धानको पकेट क्षेत्र मानिने बर्दियामा अहिलेसम्म १५÷२० प्रतिशतमात्र रोपाइँ भएको छ । यतिबेला खेतमा असारे गीत घन्काउँदै धमाधम रोपाइँको चटारोमा हुने यहाँका किसान यतिबेलामा बाँझो खेत हेर्दै टोलाउन थालेका छन् ।
पानी नपरेकाले धेरैतिर रोपाइँ हुन नसकेको हो । खेत बाँझै भएकाले किसानमा उत्साह छैन । राखिएका धानका बेर्ना खेतमै सुक्न थालेका छन् ।

प्रकाशित मिति: आइतवार, असार १५, २०७१