मङ्लबार, अशोज ९, २०८०

बाजुरामा धानको बेर्ना सुक्यो

बाजुरा, १५ असार । यस जिल्लामा असारको मध्य पुग्दासमेत पानी नपर्दा पूर्वोत्तर क्षेत्रका ११ गाविसमा धान, कोदोको बेर्ना र अन्य बालीहरू सुक्न थालेका छन् ।
जिल्लाको अधिकांश क्षेत्रमा सिँचाइ सुविधा पुगेको छैन । त्यसकारण पनि आकाशे पानीको भरमा यहाँका किसानले खेती गर्ने गरेका छन् ।
जिल्लाका वाइ, जुकोट, साप्पाटा, जगन्नाथ, रुगिन, बाँधु र बिच्छ्याँलगायतका गाविसमा यो समस्या रहेको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक जसीराम सहनीले जानकारी दिनुभयो ।
जिल्ला कृषि विकास कार्यालय बाजुराले दिएको जानकारीअनुसार जिल्लाको पूरा क्षेत्रफलमध्ये ९.२१ प्रतिशत खेतीयोग्य जमिन रहेको छ । सिञ्चित क्षेत्र १.४२ प्रतिशतमात्र रहेको छ । यस हिसाबले ७.७९ प्रतिशत जमिनमा सिँचाइ सुविधा छैन ।
पानी नपरेका कारण धान, कोदो, चिनो, कागुनो, मकैलगायतका बर्खे खेताी लगाइएको खेत र पाखामा अहिलेसम्म बीउ नै उम्रिन पाएको छैन भने उम्रिएका बीउसमेत सुकेर गएको छ ।
“काम नलाग्ने गरी सुकेको बीउले फल्नु त के बीउ नै पनि आउने छैन,” बाँधु गाविसका ७५ वर्षीय मनबहादुर अधिकारीले दुखेसो पोख्नुभयोे ।
वाइ गाविस वडा नं ८ का नवीन गिरीले भन्नुभयो – “गएका वर्षमा भन्दा यस वर्ष लामो खडेरी परेको छ । यस्तो त कहिल्यै पनि भएको थिएन । हामीले कसरी जहान परिवार पाल्ने होला !”
बर्सेनि १२ हजार मेट्रिक टन खाद्यान्न बाहिरबाट आपूर्ति गर्नुपर्ने बाजुरामा मुख्य बाली मानिने धानमा यस्तो समस्या देखिएपछि अझ खाद्य सङ्कट हुने जानकारहरू बताउँछन् । २१ सय ८८ वर्ग किमि क्षेत्रफल रहेको बाजुरामा हाल ३३ सय १० हेक्टरमा मात्र धानखेती गरिँदै आएको छ ।

प्रकाशित मिति: आइतवार, असार १५, २०७१