बिहिबार, अशोज ११, २०८०

बागलुङमा गहुँ उत्पादनमा वृद्धि

बागलुङ, १२ असार । यहाँको मुख्य खाद्यान्न बाली गहुँ उत्पादनमा यो वर्ष वृद्धि भएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा तीन प्रतिशतले गहुँ उत्पादन बढेको हो । उन्नत बीउ, नयाँ प्रविधिका साथै उत्पादन अनुकूल मौसमका कारण गहुँ उत्पादनमा वृद्धि आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गत वर्ष १६ हजार २९८ मेट्रिक टन गहुँ उत्पादन भएकामा यो वर्ष उत्पादन बढेर १६ हजार ५९६ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले जानकारी दिनुभयो ।
किसानले गहुँखेतीसम्बन्धी प्रविधि र सीप पाएका कारण पनि उत्पादन वृद्धि हुनुमा केही सघाउ पुगेको अधिकृत रिजालको भनाइ छ । बागलुङ जिल्लामा यस वर्ष गौतम, डब्लु के बाह्रसय चार, धवलागिरि, आरआर २१ लगायतका उन्नत जातको गहुँखेती गरिएको थियो । बागलुङ जिल्लामा हाल सात हजार छ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिँदै आएकामा चार हजार ५३२ हेक्टर क्षेत्रफलमा उन्नत जातको गहुँखेती गरिएको कार्यालयले जनाएको छ । पछिल्लो समय जिल्लालाई खाद्यान्न बालीमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ कृषि विकास कार्यालयले विभिन्न कार्यक्रम तथा अभियान चलाएको छ । मकै र कोदोको बीज वृद्धिसँगै खेती प्रवद्र्धनका लागि पनि कार्यालयले कृषकसँग मिaलेर काम गरिरहेको छ । तरकारी र खाद्यान्न बालीमा जिल्लालाई आत्मनिर्भर बनाउने लक्ष्य कार्यालयको छ । -कृषि साप्ताहिक

प्रकाशित मिति: बिहिबार, असार १२, २०७१