खोटाङ, १२ असार । उचित बजार नपाएपछि खोटाङको कफीको नर्सरीखेती सङ्कटमा परेको छ । उत्पादित कफीको बिरुवाले उचित बजार नपाएपछि बाँझेच्यानडाँडा–१ सेखुवास्थित सैसुला कफी नर्सरीखेती सङ्कटमा परेको हो । बजार मूल्य नपाएपछि कृषि नर्सरीमा उत्पादन हुने कफीका बिरुवा सुकेर खेर गइरहेको नर्सरी सञ्चालक चन्द्रकुमार राईले बताउनुभयो । साउदी अरबमा तीन वर्ष काम गरेर फर्किएका राईले २०६७ सालमा सुरु गरेको कफी नर्सरीमा उत्पादन हुने अधिकांँश कफीका बिरुवा हाल हुर्केर खेर गइरहेको छ । यस वर्ष कृषि नर्सरीमा उत्पादन भएका ४० हजारभन्दा बढी कफीको बिरुवा हुर्केर सुकेर खेर गएको सञ्चालक राईले बताउनुभयो ।
स्थापनाकालमा प्रतिबोट रु २५ देखि ३० सम्ममा बिक्री हुँदै आएको कफीका बिरुवा हाल रु १० देखि १५ मा पनि बिक्री हुन छाडेको राईको भनाइ छ । कफीका बिरुवा बिक्री गरेरै मासिक रु २५ हजारसम्म कमाई गरेका राईले पछिल्ला दिनमा मासिक रु चार÷पाँच हजार पनि आम्दानी हुन छाडेको बताउनुभयो । स्थानीयका अनुसार प्रायः पकेट क्षेत्र मानिएका सबैजसो गाउँमा कफीका बिरुवा पुगिसकेको र धेरथोर गाउँगाउँमै उत्पादन हुन थालेकाले राईको कफी बिरुवाले बजार पाउन छाडेको हो । राईले काठमाडौैँबाट कृषि प्राविधिक ल्याएर माटो जाँच गराएर राजधानीबाटै कफीको बीउ ल्याएर रु एक लाख ५० हजारको लगानीमा गाउँमै कफीको नर्सरीखेती सुरु गर्नुभएको हो । प्लास्टिकको टनेलभित्र ३० रोपनी जग्गामा करिब ३० हजार कफीका बिरुवा लगाएर सुरु गरिएको कफीको नर्सरी बिक्री गरेर सुरुका दिनमा राम्रो आम्दानी गर्दै आएका राईले पछिल्ला दिनमा सोचेजस्तो आम्दानी हुन छाडेको बताउनुभयो । कृषि नर्सरीमा उत्पादन भएका कफीको बिरुवा जिल्लाबाहेक भोजपुरका केही गाविसमा खपत हुने गरेको छ । बाँदरले कफीको दाना खाइदिने गरेका कारण पनि बिरुवा उत्पादनमा समस्या आएको उहाँले बताउनुभयो । -कृषि साप्ताहिक
Add Comment