मङ्लबार, अशोज ९, २०८०

बजार नपाएपछि गोलभेँडा बारीमै कुहिन थाल्यो

बाबियाचौर (म्याग्दी), १० असार । म्याग्दीका किसानले उत्पादन गरेको गोलभँेडाले बजार नपाएपछि बारीमै कुहिन थालेको छ ।  बजारमा मागको तुलनामा गोलभेँडाको उत्पादन बढी भएको र जिल्ला बाहिरको बजारमा कृषकको पहुँच नभएका कारणले बारीमा गोलभेँडा कुहिन थालेको हो । रत्नेचौर, ज्यामरुककोट, सिँगा, घतान, बाबियाचौर, दरवाङलगायत गाविसका कृषकले उत्पादित गोलभेँडाले बजार र मूल्य नपाएपछि बारीमै कुहिन थालेको बताएका छन् । केही दिनअघि रु ६० प्रतिकिलोमा बिक्री भएको गोलभेँडाको मूल्य घटेर यस हप्ता रु १० मा झरेपछि बोटबाटै टिप्नै छाडेको ज्यामरुककोटका कृषक शोभित शर्माले बताउनुभयो । “धेरै उत्पादन भएकाले एकाएक मूल्य घट्न थालेपछि पसल–पसलमा पु¥याउँदासमेत बिक्री हुन छाड्यो”, शर्माले भन्नुभयो, “बजार र मूल्य पाउन नसकेपछि पाकेका गोलभेँडा बारीमै कुहिएर नष्ट हुन थालेको छ ।”

        असार महिना गोलभेँडाखेतीका लागि अनुकूल मौसम मानिन्छ । बजार विस्तार हुन नसके पनि गोलभेँडाखेती गर्ने कृषक बढेका छन् । बेनी, सिँगा, गलेश्वर, बाबियाचौर, तातोपानी र दरवाङमा उत्पादित सबै गोलभँेडा खपत हुन नसकेपछि कृषक समस्यामा परेका हुन् । जिल्ला बाहिर गोलभेँडा निर्यातका लागि पहल गरे पनि बजारसम्म पहुँच नभएकाले लगानी डुब्नाका साथै आम्दानीबाट वञ्चित हुँदा किसानलाई दोहोरो मार परेको रत्नेचौरका कृषक कमल थापाले बताउनुभयो । जिल्ला कृषि विकास कार्यालयका अनुसार म्याग्दीमा हाल ४७४ जना कृषक गोलभँेडा खेतीमा संलग्न छन् । गत वर्ष रु छ करोड ११ लाख १२ हजार मूल्यबराबरको गोलभँेडा उत्पादन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । -कृषि साप्ताहिकबाट

प्रकाशित मिति: मङ्लबार, असार १०, २०७१