बागलुङ, १० असार । जिल्लामा चालु आर्थिक वर्षमा ६५ रोपनी क्षेत्रफलमा व्यावसायिक माछापालन सुरु भएको छ । कृषि विकास कार्यालयको अनुदान तथा प्राविधिक सहयोगमा जिल्लाका कृषकले व्यावसायिकरुपमा माछा पाल्न थालेका हुन् । डेढ दर्जनभन्दा बढी गाविसका कृषक, कृषक समूह तथा सहकारीहरूले माछापालन सुरु गरेका छन् । हालसम्म जिल्लामा ६५ वटा पोखरी निर्माण गरी माछापालन सुरु गरिसकिएको कृषि विकास कार्यालयले जनाएको छ । प्रतिरोपनीमा एउटा पोखरी निर्माण गरी कृषकले विभिन्न प्रजातिका माछाका भुरा पोखरीमा छोडेको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो । माछापालनका लागि जिल्ला कृषि विकास कार्यालयले पोखरी निर्माणमा अनुदान दिएपछि कृषक माछापालनतिर हौसिएका हुन् । कार्यालयले कृषकलाई पोखरी निर्माणका लागि रु १० हजार अनुदान सहयोग गरेको अधिकृत रिजालले जानकारी दिनुभयो ।
जिल्लाको राङ्खानी, अर्जेवा, हरिचौर, रिघा, भकुण्डे, दुदिलाभाटी, काँडेबास, दगातुनडाँडा, बुर्तिवाङ, सिगाना, हुग्दीशीर, बागलुङ नगरपालिकालगायतका क्षेत्रमा माछापालन सुरु भएको कार्यालयले जनाएको छ । विग हेड, ग्रास कार्प, कमन कार्प, रघु र नैनी प्रजातिका माछा पाल्न सुरु गरिएको कृषि प्रसार अधिकृत विप्लवप्रसाद अधिकारीले बताउनुभयो । प्रत्येक पोखरीमा ३०० माछाका भुरा छोडिएको र आवश्यकताअनुसार कतै कृषकले बढी पनि राख्ने गरेको अधिकृत अधिकारीले जानकारी दिनुभयो । एक रोपनी क्षेत्रफलमा फैलिएको पोखरीमा ३०० माछाका भुरा राख्नु प्राविधिक हिसाबले उपयुक्त हुने उहाँको भनाइ छ । “गत फागुनदेखि पोखरीमा माछाका भुराहरू छोडिएको छ, अहिले माछा उपभोगका लागि तयार हुने क्रममा छन्”, वरिष्ठ कृषि विकास अधिकृत रिजालले भन्नुभयो, “आगामी कात्तिक÷मङ्सिरसम्मका माछापालनबाट उत्पादन लिन सकिन्छ ।” प्रजातिअनुसार कुनै माछा छिट्टै हुर्कने कुनै ढिलो पनि हुने गरेको उहाँले बताउनुभयो । प्रायः गरी माछापालनबाट कृषकले नौदेखि १० महिनामा उत्पादन लिनसक्ने अधिकृत रिजालले जानकारी दिनुभयो । माछापालन व्यवसायबाट राम्रो आम्दानी पनि गर्न सकिने र बजारको अभाव नहुने हुँदा यसतर्फ कृषकको आकर्षण वृद्धि हुँदै गएको जनाइएको छ । कृषि कार्यालयकै अनुदान सहयोग लिएर काँडेबासमा जिल्लाकै ठूलो पाँच रोपनी क्षेत्रफलमा पोखरी निर्माण गरिएको छ । समूहमा मिलेर माछापालन सुरु गरिएको अग्निधर सापकोटाले बताउनुभयो । त्यस्तै कल्पना बीउ उत्पादक समूह तङ्ग्रामले पनि सामूहिक रुपमा माछापालन सुरु गरेको छ । समूह, सहकारीलगायत व्यक्तिगत रुपमा माछापालन गर्नेको सङ्ख्या पनि बढिरहेको छ । अहिले ताजा माछा प्रतिकिलो रु ४०० देखि रु ५५० सम्ममा बिक्री हुने गरेको छ । -कृषि साप्ताहिकबाट
Add Comment