शनिबार, अशोज १३, २०८०

खाद्य सङ्कट हटाउन खेतबारी बाँझो राख्न नहुनेमा जोड

फलेवास (पर्वत), १० असार । मुलुकमा बढ्दो खाद्य सङ्कट न्यूनीकरणका लागि बाँझो रहेको खेतमा खेती गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । अन्तर्राष्ट्रिय पारिवारिक खेती वर्ष २०१४ का सन्दर्भमा राष्ट्रिय भूमिअधिकार मञ्चको आयोजना र जिल्ला कृषि विकास कार्यालयद्वारा आयोजित एकदिने अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले बाँझो रहेको खेतमा खेती विस्तार कार्यक्रमलाई अभियानका रुपमा अगाडि बढाउन जरुरी रहेको औँल्याएका छन् । जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत अजय अधिकारीले कृषकहरू आत्मनिर्भर बन्न आफू नै जागरुक बन्नुपर्नेमा जोड दिंदै तरकारी खेतीमा युवाको आकर्षण बढे पनि अझै व्यावसायिक ढङ्गबाट हुन नसकेको बताउनुभयो । उहाँका अनुसार जिल्लामा कुल ९८ हजार ५९० हेक्टर खेतीयोग्य जमिन रहेकामा त्यसमध्ये जम्मा २२ हजार १७१ हेक्टर जमिनमा मात्र खेती भएको छ । कार्यक्रममा जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत अमृतकुमार मास्केले धेरै जमिनमा अम्लियपना बढेर खेती गर्न योग्य नभएकाले मलमूत्रको व्यवस्थापनबाट रासायनिक मलको प्रतिस्थापन गर्न सकिने भएकाले यसतर्फ लाग्न आग्रह गर्नुभयो ।  खेतीयोग्य जमिनमा सिँचाइ र जनशक्तिको अभावका कारण राम्रोसँग खेती हुन नसकेकाले सरकारले यसतर्फ ध्यान दिनुपर्नेमा कृषकहरूले माग गरेका थिए । – कृषि साप्ताहिकबाट

प्रकाशित मिति: मङ्लबार, असार १०, २०७१