शुक्रबार, चैत्र १६, २०८०

नहर बन्द हुँदा कृषकले रोपाइँ गर्न पाएनन्

कञ्चनपुर, ९ असार । महाकाली नदीको शारदा ब्यारेजबाट आउने नहर भारतीय पक्षले बन्द गरेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रका कृषकले रोपाइँ गर्न पाएका छैनन् । भारतले नहर मर्मतको कार्य भन्दै एक सातादेखि नहर बन्द गरेपछि कृषकले रोप्नका लागि ठिक्क पारेका धानका बेर्ना पानीको अभावमा सुक्न थालेका छन् । कृषकले प्रमुख जिल्ला अधिकारी  कृष्णचन्द्र घिमिरेलाई यसबारे जानकारी गराएका  छन् । भारतले नहर बन्द गरेपछि रोपाइँ गर्न पाएका छैनौँ स्थानीय कृषक भीमदत्त पाण्डेयले भन्नुभयो, “सरकारी तहबाट पहल नभएमा किसानहरु ठूला मर्कामा पर्नेछन् ।” सुकेको धानको बेर्ना बोकेर जिल्ला प्रशासन पुगेका कृषकलाई सम्झाउँदै प्रमुख जिल्ला अधिकारी घिमिरेले नहर सुचारु गराउनेतर्फ भारतीय समकक्षीसँग कुराकानी गर्ने बताउनुभयो । नहर बन्द भएपछि नगरपालिका क्षेत्रका अधिकांश कृषकले रोपाइँ गर्नका लागि उखेलेको बेर्ना खेतमै सुकेको बताएका छन् ।  नगरपालिकाको छ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।  आकासे पानीको भरमा धान रोप्दै आएका जिल्लाको अन्य क्षेत्रका कृषकले समेत समयमै प्रयाप्त वर्षा नहुँदा रोपाइँ गर्न नपाएको गुनासो गरेका छैन । -कृषि साप्ताहिबाट

प्रकाशित मिति: सोमवार, असार ९, २०७१