शुक्रबार, चैत्र १६, २०८०

गाउँमै पुगेर पशु स्वास्थ्य सेवा

बाबियाचौर (म्याग्दी), ९ असार । जिल्लाको भकिम्लीका किसानलाई गाउँमै पुगेर पशु स्वास्थ्य सेवा दिइएको छ । जिल्ला पशु सेवा कार्यालयको आयोजनामा आइतबार भकिम्लीको डाँडाखानीमा सञ्चालन भएको निःशुल्क पशु स्वास्थ्य शिविरमा ३०० जनाले सेवा लिएका छन् । कृषकलाई पशुको स्वास्थ्यप्रति सचेत बनाउने र पशु स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यले गाउँमै पुगेर सेवा दिएको कार्यालय प्रमुख वरिष्ठ पशु चिकित्सक  दयाराम चापागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरबाट ३०० किसानका एक हजार २०० पशुका लागि निःशुल्क औषधि वितरण गरिएको छ । यसैगरी २० वटा बिरामी पशुको शिविरमा उपचार गरिएको थियो भने १० वटा गोरुलाई खसी बनाइएको छ । कार्यालय प्रमुख चापागाईंको नेतृत्वमा रहेको पाँच पशु स्वास्थ्य प्राविधिकको टोलीले सेवा दिएको थियो । चेतनाको अभावमा पशुको स्वास्थ्यलाई प्राथमिकता नदिने गरेको पाइएपछि किसानलाई पशु स्वास्थ्यप्रति सचेत बनाउन र सेवामा पहुँच बढाउन चालु आर्थिक वर्षमा घार र निस्कोटमा पनि शिविर सञ्चालन गरिएको कार्यालय प्रमुख चापागाईंले बताउनुभयो । -कृषि साप्ताहि

प्रकाशित मिति: सोमवार, असार ९, २०७१