गोरखा, ८ असार । घरको आर्थिक अवस्थाका कारण विद्यालय शिक्षा पूरा गर्न नपाएका गोरखा बक्राङका गणेश सङ्ग्रौलाले पाडापालन गरेर राम्रो आम्दानी गर्नुभएको छ । चितवनबाट प्रतिसङ्ख्या पाँच हजार मूल्य तिरेर ल्याएका १५ वटा पाडाको मूल्य अहिले रु दुई लाखभन्दा बढी भएको उहाँ बताउनुहुन्छ । दिनदिनै गोठालो हुनुपरे पनि राम्रो आम्दानी भएकाले यसबाट आफूलाई रोजगारी पनि मिलेको उहाँ बताउनुहुन्छ । पढ्न नपाए पनि आफूलाई पछुतो नरहेको उहाँको भनाइ छ । सुरुमा पाँचवटा पाडाबाट सुरु गरेको व्यवसाय अहिले राम्रो व्यापार गरिरहेको उहाँको कथन छ । दुई वर्षको अवधिमा उहाँले गोरखा सदरमुकाममा घडेरीसमेत जोडिसक्नु भएको छ । “मानिसहरू भेडा चराउन विदेशको मरभूमिमा जान्छन् तर म गाउँकै हरियाली जङ्गलमा पाडा चराउँछु”, उहाँ भन्नुहुन्छ । पाडासँगै उहाँले बाख्रा पनि पाल्नुभएको छ । सुरुमा बाबुआमाले विदेश जान सल्लाह दिएपनि गाउँमा सापटी मागेको पैसा लिएर उहाँले चितवनबाट पाडा किनेर ल्याउनुभएको थियो । हप्ता दिनमै उहाँलाई पाडा बिक्री गरेर रु २५ हजार नाफा भएको थियो । अहिले उहाँको सिको गर्दै गाउँमा पाडा पाल्ने युवाको सङ्ख्या बढेको छ ।
Add Comment