शनिबार, बैशाख ८, २०८१

एउटै गाविसमा १० करोडको तरकारी उत्पादन

गोरखा, ७ असार । गोरखा जिल्लाको तरकारीको पकेट क्षेत्र मानिएको घ्याल्चोक गाविसबाट वार्षिक रु १० करोडभन्दा बढीको तरकारी उत्पादन हुने गरेको छ । गाविसका वडा नं १, २, ५, ६, ८ र ९ बाट सो रकम बराबरको तरकारी उत्पादन हुने गरेको स्थानीय भरतबाबु दुवाडीले जानकारी दिनुभयो । यहाँका किसानले उत्पादन गरेको तरकारी काठमाडौँ, पोखरा, लमजुङ, तनहुँ र गोरखामा खपत हुने गर्दछ । किसानहरूले जनकल्याण सामुदायिक कृषि उत्पादन संस्थामार्फत रु चार करोड, जनकल्याण ताजा तरकारी उत्पादन केन्द्र, ज्यामिरेघाटबाट रु चार करोड, चाइनाघाट कृषक सुधार सहकारी संस्थामार्फत रु दुई करोड र इटारघाटबाट करिब रु ५० लाख बराबराको तरकारी बिक्री वितरण गर्ने गरेको स्थानीय कृष्णप्रसाद रेग्मीले बताउनुभयो । घ्याल्चोकमा बन्दा, मूला, काउली, भेडी, भण्टा, टमाटर, फर्सी, घिरौँला आदि तरकारी उत्पादन गरिन्छ । खेतमा सिँचाइको सुविधा पुगेको भए पनि पाखा बारीमा तरकारीखेती गर्दा भने आकाशे पानीको भर पर्नुपर्ने बाध्यता रहेको स्थानीय कृषकहरू बताउँछन् । उन्नत जातका हाइब्रिड बीउबिजन प्रयोग गर्ने र आधुनिक कृषि उपकरण तथा प्रविधिलाई प्रयोग गरेर तरकारीखेती गरिने भएकाले धेरै तरकारी उत्पादन गर्न सकिएको स्थानीय दीपक तिमिल्सिनाले बताउनुभयो । तरकारीखेतीबाट गाउँका प्रत्येक घरले वार्षिक रु एक लाखदेखि सात लाखसम्म आम्दानी गर्ने गर्दछन् । तरकारीखेतीबाट मनग्य आम्दानी हुने भएकाले गाविसका ज्यादै कम सङ्ख्यामा युवा विदेश पलायन भएका छन् । अधिकांश युवा तरकारीखेतीमा नै आकर्षित भएका छन् ।  पर्याप्त सिँचाइ सुविधाको अभाव हुनु, उत्पादित तरकारीको उचित मूल्य नपाउनु, यातायातको सुविधा नहुनु आदि समस्या स्थानीय कृषकले भोगिरहेका छन् । कृषकहरूलाई सेवा प्रदान गर्नका लागि जिल्ला कृषि विकास कार्यालयले घ्याल्चोकमा एउटा कृषि सम्पर्क केन्द्र स्थापना गरी एक जना जेटिएको व्यवस्था पनि गरेको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत रमेशचन्द्र सुवेदीले बताउनुभयो । त्यसैगरी जिल्ला कृषि विकास कार्यालयका तर्फबाट सिँचाइ, पावरटेलर खरिद, सहकारी संस्थाहरूको भवन निर्माण आदिमा कृषकहरूलाई सहयोग रहँदै आएको अधिकृत सुवेदीले बताउनुभयो । -कृषि साप्ताहिक

प्रकाशित मिति: शनिबार, असार ७, २०७१