शुक्रबार, चैत्र १६, २०८०

कृषि अनुसन्धानमा विशेष जोड दिनुपर्ने

वीरगन्ज, ३ असार । अन्तर्राष्ट्रियस्तरमा परिवर्तित प्रविधिअनुसार नेपाली किसानलाई पनि प्रतिस्पर्धी र व्यावसायिक बनाउनका लागि कृषि अनुसन्धानमा विशेष जोड दिनुपर्ने आवश्यकतामाथि कृषि वैज्ञानिक तथा प्राविधिकले जोड दिएका छन् । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरद्वारा आज सो कार्यालयको सभाकक्षमा आयोजित ‘क्षेत्रीय प्राविधिक कार्य समूह बैठकमा’ उनीहरूले परम्परागत कृषिलाई व्यावसायिक बनाउन तथा व्यावसायिक कृषिका लागि क्षमता अभिवृद्धि गर्न कृषक तथा कृषि मैत्री नीति ल्याउनुपर्ने आवश्यकता औँल्याए । कृषि क्षेत्रको समूचित विकासका लागि अनुसन्धान कार्यलाई बढी प्रभावकारी र सबल बनाउनुपर्ने आवश्यकता रहेको चर्चा गर्दै यसका लागि पुँजी लगानी, भौतिक पूर्वाधारको विकास, उपयुक्त प्रविधिको प्रयोग, दक्ष जनशक्तिको परिपूर्ति, संस्थागत क्षमता अभिवृद्धि तथा सम्बन्धित निकायबीच व्यवहारिक समन्वय हुनुपर्ने उनीहरूको भनाइ थियो । अहिले पनि नेपालका खेती परम्परागत रुपमा जनशक्तिमा आधारित छ, प्रविधिले त्यती ठाउँ ओगट्न सकेको छैन, मध्यमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय काठमाडौँका क्षेत्रीय निर्देशक टेकबहादुर बमले भन्नुभयो– “कृषिको उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि उन्नत प्रविधिमा सबै किसानको पहुँच बढाउनुपर्दछ ।”
उहाँले नेपालको कृषि विविधताको दिगो उपयोग र कृषि उत्पादनको गुणस्तर सुनिश्चितता प्रदान गरी यस क्षेत्रलाई पूर्ण व्यावसायिक बनाउनुपर्ने उल्लेख गर्दै कृषि सेवा, उन्नत प्रविधि, गुणस्तरीय बीउबिजन तथा मलखादको दिगो उपयोग गर्नुपर्ने र यसका लागि कृषि अनुसन्धान तथा कृषि र पशु विकाससँग सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र सहकार्य हुनुपर्दछ भन्नुभयो । क्षेत्रीय पशुसेवा निर्देशनालय मध्यमाञ्चलका क्षेत्रीय निर्देशक दामोदर सेढार्इंले पशुपालन व्यावसायलाई सबल, सुदृढ र व्यवस्थित बनाउनका लागि किसानमा आधारित अनुसन्धान कार्यक्रमलाई विशेष प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै पशुपालन व्यवसायमा देखिएका समस्या र चुनौतीको निराकरण तथा यसका सम्भावनाका बारेमा व्यापक खोजी र अनुसन्धान हुनुपर्ने विचार व्यक्त गर्नुभयो । सरकारी सेवाबाट अवकाश प्राप्त वरिष्ठ कृषि वैज्ञानिक रामचन्द्र प्रसादले कृषिको उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि विशेषगरी जैविक खेतीमा आधारित आधुनिक प्रविधिको विकास तथा विस्तारमा जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै कृषि अनुसन्धान कार्यलाई बढी सबल, सुदृढ र सुक्ष्म बनाउनका लागि यस कार्यमा संलग्न वैज्ञानिक तथा प्राविधिकको एकीकृत प्रयासको खाँचो औँल्याउनुभयो । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरका क्षेत्रीय निर्देशक कैलाशप्रसाद भूडेरले केन्द्रबाट सम्पादन हुने कृषि अनुसन्धान कार्यको उपलब्धि, समस्या र चुनौतीका बारेमा प्रकाश पार्दै कृषिलाई ग्रामीण क्षेत्रको मुख्य आकर्षक पेसाको रुपमा परिणत गरी यस क्षेत्रलाई उद्योगकै रुपमा अगाडि बढाउने कार्यमा सम्बन्धित कृषि वैज्ञानिक तथा प्राविधिकले विशेष पहल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
बैठकमा धान, गहँु तथा मकै बाली, उखुबाली, तेलहनबाली, फलफूलखेती, पशुपालन, कुखुरा, बट्टाई र माछापालन, जडीबुटीखेती लगायतका क्षेत्रमा देखिएको समस्या, चुनौती, उपलब्धि र त्यसको सम्भाव्यताका विविधपक्षमाथि व्यापक छलफल भएको थियो । केन्द्रका क्षेत्रीय निर्देशक भूडेरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ कृषि वैज्ञानिक तुफैल अख्तर, वैज्ञानिक बिपी यादव र वरिष्ठ अगुवा कृषक मणिलाल बच्छार थारुलगायतका वक्ताले कृषि क्षेत्रको दिगो विकासका लागि अपनाउनुपर्ने तत्कालीन र दीर्घकालीन रणनीतिका बारेमा प्रकाश पार्दै कृषि प्रणालीअन्तर्गतका विभिन्न निकायबीचको साझेदारी र बहुपक्षीय सहकार्यबाट मात्र कृषि क्षेत्रको दिगो विकास हुने बताउनुभयो । कार्यक्रममा धनुषा, महोतरी, सर्लाही, रौतहट, बारा, पर्सा र चितवनलगायत क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुअन्तर्गतका कार्यालयका प्रमुख तथा कृषि वैज्ञानिक, सम्बन्धित जिल्ला कृषि तथा पशु विकास कार्यालय, खाद्य, प्लान्ट तथा पशु क्वारेन्टाइन कार्यालय र कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख गरी करिब ५० जनाको सहभागिता रहेको छ ।

प्रकाशित मिति: मङ्लबार, असार ३, २०७१