बिहिबार, बैशाख १३, २०८१

मौरी पालनमा आकर्षित गराउन चेपाङलाई ५० मौरीका घार वितरण

 रत्ननगर (चितवन), ३१ जेठ । गिठा र भ्याकुर खोजेर जिविका चलाउने चेपाङ समुदायलाई व्यावसायिक मौरी पालनमा आकर्षित गराउन मौरीपालन विकास कार्यालय भण्डारा चितवनले मौरीका घार वितरण गरेको छ । चेपाङहरूको पाँच समूहलाई १०÷१० वटा घारका दरले ५० वटा मौरीसहितको घार वितरण गरिएको मौरीपालन विकास कार्यालयले जनाएको छ । करिब रु चार लाख ५० हजार मूल्य पर्ने मौरी घार वितरण गरिएको कार्यालयका प्रमुख शिवप्रसाद रिजालले बताउनुभयो । चेपाङ समुदायको आयआर्जन वृद्धि गर्न, पोषण सुरक्षा, परागसेचन वृद्धि गरी उत्पादन वृद्धि गर्ने उद्देश्यले चितवनको विकट कोराक, शक्तीखोर, सिद्धी, पिप्ले, कठार, भण्डाराका चेपाङ समुदायलाई मौरी र गोला वितरण गरिएको जानकारी कार्यालयका प्रमुख वरिष्ठ मौरीविज्ञ रिजालले दिनुभयो । चितवनमा हाल २५० जनाले व्यावसायिकरुपमा मौरीपालन गर्दै आएका छन् । एउटा मौरीको घारबाट वर्षमा सरदर ५० किलो मह उत्पादन हुन्छ । चरन क्षेत्रको अभावमा मौरीपालन व्यवसाय सङ्कटमा पर्ने अवस्था रहेकाले मौरीपालनको प्रवद्र्धनका लागि चरन क्षेत्रको खोजी गर्न लागिएको मौरीविज्ञ रिजालले बताउनुभयो । बेमौसममा चितवनबाट दाङ, मकवानपुर, रुपन्देही तथा अन्य जिल्लाबाट पनि अयन्त्र मौरीलाई चरनको लागि लैजानुपर्ने बाध्यता रहेको छ । नेपालका हाल मेलिफेरा र सेरेना जातको मौरीपालन हुँदै आएको छ ।

प्रकाशित मिति: शनिबार, जेष्ठ ३१, २०७१