शुक्रबार, बैशाख १४, २०८१

लिफ्ट सिँचाइबाट किसान लाभान्वित

चौतारा, ३० जेठ । सिन्धुपाल्चोकको भोटसिपा–८ महादेवटारका किसान गाउँमा लिफ्ट सिँचाइ योजना सम्पन्न भएपछि खुसी भएका छन् । बस्तीमुनिबाट अविरल रूपमा इन्द्रावती नदी बगिरहे पनि पर्याप्त उब्जनी लिन नसकिरहेको अवस्थामा हालै लिफ्ट सिँचाइ योजना सम्पन्न भएपछि उनीहरू खुसी भएका हुन् । साना–साना खोल्साको पानीले नपुगेपछि आकाशे पानीको भरमा निर्भर रहनुपर्ने त्यहाँका किसानले अब १२ महिना नै सिँचाइको सुविधा प्राप्त गर्नेछन् । परम्परागत खेतीभन्दा मौसमी र बेमौसमी तरकारीखेतीबाट दोब्बर आम्दानी गर्न पाउने भएपछि उनीहरू खुसी भएका हुन् । उसै त रातो माटो, त्यसमा पनि सिँचाइ कम हुने भएपछि किसान मर्कामा परेका थिए । ग्रामीण बचत तथा ऋण सहकारी संस्था र उपभोक्ता समितिको दिगो प्रविधि विकास तथा आयस्तर सुधार उपभोक्ता समितिको सक्रियतामा रु १३ लाखको लागतमा सो योजना सम्पन्न भएपछि ७४ किसानको २५२ रोपनी जमिन सिञ्चित भएको छ ।
काठमाडौँको सिद्धिविनायक ट्रेड एन्ड सप्लायर्सको प्राविधिक सहयोगमा सम्पन्न सो योजनाका लागि जिल्ला कृषि विकास कार्यालयबाट औजार खरिदका लागि रु चार लाख सहयोग प्राप्त भएको थियो । योजनामा तटबन्ध संरक्षणका लागि जिल्ला भू–संरक्षण कार्यालयबाट २२ थान तार जाली र उपभोक्ताले प्रतिरोपनी रु एक हजारका दरले चन्दा प्रदान गरेको उपभोक्ता समितिका अध्यक्ष छवीरमण आचार्यले जानकारी दिनुभयो । इन्द्रावती नदीमा १०० मिटर हेडद्वारा ६२० मिटरको पाइप राखी प्रतिघन्टा ३६ हजार लिटर पानी तानिएको छ । सो कामका लागि ५० केभिएको विद्युत् ट्रान्सफर्मर राखी २५ हर्सपावरको मोटर जडान गरिएको समितिका सचिव विनोद दुलालले बताउनुभयो । -कृषि साप्ताहिक

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३०, २०७१