काठमाडौँ, ३० जेठ । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मुलुकमै पहिलो पटक ‘टनेल बोरिङ मेसिन’ मार्फत निर्माण गरिने भएको छ । सिँचाइ र जलविद्युत् उत्पादन कार्य सँगसँगै निर्माण गरिने नेपालको एकमात्र यस बहुउद्देश्यीय आयोजनाको १२ किलोमिटर लामो सुरुङ अत्याधुनिक टनेल बोरिङ मेसिनबाट निर्माण गरिने सिनियर डिभिजन इन्जिनियर मीनराज ढकाल बताउनुहुन्छ । मेलम्ची आयोजनापछिको दोस्रो लामो सुरुङ रहने यस आयोजनाको सुरुङ निर्माणमा प्रयोग गरिने टनेल बोरिङ मेसिनबाट प्रतिमहिना ४५० मिटर सुरुङ खन्न सकिन्छ । जबकि हालसम्म नेपालमा प्रचलित ड्रिल एन्ड ब्लास्ट प्रविधि (सुरुङमा प्वाल पारी विस्फोट गर्ने)बाट दैनिक एकदेखि डेढ मिटरमात्र सुरुङ निर्माण गर्न सकिन्छ । सुर्खेतको छिन्छु–जाजरकोट सडकखण्डको चिप्लेमा बाँध बाँधी भेरी नदीको पानी चुरिया क्षेत्रमा पर्ने १२ किमि लामो र पाँच किमि गोलाइको सुरुङबाट बबई नदीमा मिसाइने सिडिई ढकाल बताउनुहुन्छ । छ वर्षभित्रमा सम्पन्न गरिने लक्ष्य रहेको यो आयोजना यसै वर्षबाट सुरु गरिने र त्यसका लागि पहिलो चरणको पूर्व योग्यता परीक्षणको प्रतिस्पर्धामा भारत, चीन, रसिया, सिङ्गापुर र इटालीका १६ अन्तर्राष्ट्रियस्तरका परामर्शदाताले प्रस्ताव दर्ता गराइसकेका छन् । आगामी भदौबाट निर्माण कार्य सुरु हुने यस आयोजनामा नेपाल सरकारको रु १६ अर्ब लगानी हुने र सुरुङ निर्माणका लागिमात्र रु १५ अर्ब लाग्ने अनुमान गरिएको छ । आयोजनाले चुरे क्षेत्रमा निर्माण गरिने १२ किमि लामो सुरुङमार्फत भेरी नदीको पानी प्रतिसेकेन्ड ४० हजार लिटरका दरले बबई नदीमा खसाल्ने र त्यसबाट सिँचाइका साथै नियमित रूपमा ४८ मेगावाट विद्युत्समेत उत्पादन गर्ने लक्ष्य राखेको छ । सुरुङ निर्माणका क्रममा उपलब्ध हुने बाँधको हेडको सदुपयोग गर्दै ४८ मेगावाट विद्युत्समेत उत्पादन हुने हुँदा यो आयोजनाको निर्माणले कृषि उत्पादनमा वृद्धिका साथै विद्युत् भार कटौती कम गर्न मद्दत गर्ने आयोजना प्रमुख शिवकुमार बस्नेत बताउनुहुन्छ । बबई नदी आसपास खेतीयोग्य जमिन धेरै भए पनि पानीको मात्रा कम हुनु र खेतीयोग्य जमिन पनि कम भएकाले दुवै नदीलाई सदुपयोग गर्न यो आयोजना कोसेढुङ्गा हुने उहाँ बताउनुहुन्छ । आयोजनाले तत्काल १८ हजार ५०० हेक्टर र दीर्घकालीन रूपमा बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ उपलब्ध गराउने लक्ष्य राखेको छ । मुलुकमा कार्यान्वयन हुन लागेको पहिलो बहुउद्देश्यीय यस आयोजनामा अहिलेसम्म देखिएको प्रमुख चुनौती भनेको कमजोर भू बनावट भएकाले त्यसका लागि सुरुङको पूरै भित्री भागमा छडसहितको लाइनिङ (प्लास्टर) गर्नुपर्ने देखिएको छ ।
Add Comment