ललितपुर, २८ जेठ । सिफारिसको अन्तिम चरणमा पुगेको कमल हाइब्रेड–२ जात नाम गरेको मकैको बीउ किसानले प्रयोग गरिसकेका छन् । कृषि वनस्पति महाशाखा खुमल्टारले अनुसन्धान गरी निकालेको मकैको बीउ सिफारिसका लागि अन्तिम अवस्थामा रहेको भए पनि परीक्षणका क्रममा राम्रो मानिएकाले कृषकले सिफारिसबिना नै उक्त मकैको बीउ प्रयोग गरेका कृषि अनुसन्धान परिषद् नार्कका मकै प्रजननकर्ता नारायण धामीले बताउनुभयो । विशेषगरी मध्यपहाडका लागि सिफारिस गर्न लागिएको सो मकैको बीउमध्ये तराईमा पनि प्रयोग गर्दा फरक नपर्ने धामीले बताउनुभयो । लगाएको छोटो समयमा उत्पादन लिन सक्ने मकै अन्य हाइब्रेडभन्दा राम्रो मानिएको छ । लगाएको ३५/४० दिनमा आम्दानी लिन सकिने कमल हाइब्रेड २ मकैले अधिकांश मकैमा लाग्ने ध्वाँसे रोगसमेत सहन सक्ने भएकाले व्यावसायिक रूपमा खेती गर्नका लागि कृषकले यो मकै बढी रुचाएका हुन् । अन्य हाइब्रेडको जस्तो यसको विशेषता नभई भुट्दा फूल उठ्ने, खानका लागि पनि राम्रो मानिने यस मकैलाई कृषकले अत्यन्तै मन पराएका प्रजननकर्ता धामीले बताउनुभयो । यस मकैको सबैभन्दा फरक विशेषता भनेको मकै पाकेपछि पनि केही समय बोट हरियो नै रहन्छ ।
Add Comment