भक्तपुर । जिल्ला कृषि विकास समितिको टोलीले जिल्लामा विभिन्न स्थानमा सञ्चालित बेमौसेमी तरकारी खेती र कृषि योजनाहरुको अनुगमन तथा निरिक्षण गरेको छ । टोलीले भक्तपुरको सुडालमा सञ्चालित साना सिँचाई परियोजना, बाँध कुलो र बेमौसमी तरकारी बालीको प्रभावकारिताबारे स्थलगत निरीक्षण गर्दै त्यसको प्रभावकारिता बारे अध्ययन गरेको थियो । साथै सुडाल गाविस वडा नं. ९ मा रहेको गङ्गेश्वर बचत तथा ऋण सहकारी संस्थामार्फत सुडालमा सञ्चालन गरिएका विभिन्न कार्यको अनुगमन भ्रमण गरेको कृषि कार्यालयले जनाएको छ ।
सो अवसरमा संस्थाले गरिरहेको बेमौसमी तरकारी बालीअन्तर्गत काउली, सिमी, मकै, गोलभेडालगायतका बालीमा परेको समस्याकाबारेमा टोलीले कृषकहरुसँग खेतमानै अन्तरक्रिया गरेको थियो । अन्तरक्रिया पछि तत्काल कृषकका समस्या समाधानका लागि टोलीले बालीको अनुगमन समेत गरेको थियो । आर्थिक वर्ष २०७०/७१ सालमा कृषि विकास कार्यालय र अन्य विकास कार्यालयहरुको विकास कार्यक्रमअन्र्तगत सुडाल र दधिकोटमा सञ्चालित कृषि परियोजनाहरुको निरिक्षण अनुगमन गरिएको जिल्ला कृषि कार्यालयका निमित्त प्रमुख एवं कृषि प्रसार अधिकृत नरेशचन्द्र घिमिरेले जानकारी दिनुभयो । अनुगमनका क्रममा सुडालको गंगेश्वर बचत तथा ऋण सहकारी संस्थाबाट भइरहेको बेमौसमी तरकारी खेतीबाट समुदायले लाभ लिइरहेको र त्यसलाई व्यवस्थित गर्ने प्रयास भइरहेको देखिएको घिमिरेले बताउनुभयो । साथै उहाँले अनुगमनका क्रममा दधिकोटका युवाहरुको समूहबाट भइरहेको बेमौसमी गोलभेडा खेतीको पनि निरीक्षण गरिएको जानकारी दिनुभयो ।
अनुगमनका क्रममा ७५ हजार रुपियाँको साना सिँचाई योजनालाई सुडालका किसानहरुले श्रमदान मार्फत ४ लाख भन्दा बढिको कार्य सम्पन्न गरेको पाईएको प्राविधिक कार्यालय भक्तपुरले जनाएको छ । टोलीमा जिल्ला कृषि विकास समितिअन्तर्गत रहेका जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला कृषि कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला पशु सेवा कार्यालय, जिल्ला वन कार्यालय, महिला विकास समिति, कृषि विकास बैंक, उद्योग वाणिज्य संघ, प्राविधिक कार्यालयका पदाधिकारी र कृषकहरूको सहभागिता रहेको थियो । -जगतकृष्ण प्रजापति
Add Comment