बिहिबार, मंसिर २१, २०८०

लिची उत्पादनमा किसानको आकर्षण

गजुरी, २७ जेठ । जिल्लाका मध्यक्षेत्रमा पर्ने गाविसमा लिचीको माग बढ्दै गएपछि यस क्षेत्रका केही गाविस लिचीमय बनेको छ ।

निर्वाहखेती गर्दै आएका कृषकमा लिचीखेती गरेर व्यावसायिक बन्ने उत्साह बढेको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
भिर पखेरामा समेत यसको खेती गर्न सकिने भएपछि लिचीखेतीतर्फ किसान आकर्षित भएका हुन् । नगदेबालीको रूपमा लिइने लिचीखेतीको उत्पादन अघिल्लो वर्षको तुलनामा Lichi२० प्रतिशत वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख होमराज विष्टले जानकारी दिनुभयो ।
धादिङमा गत वर्ष एक हजार ५९० मेट्रिक टन लिची उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष लिची किसानको सङ्ख्या र उत्पादन पनि बढेको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।
जिल्लाको मैदी, नीलकण्ठ, कल्लेरी, सलाङ, नलाङलगायतका गाविसमा किसानले लिचीखेती सञ्चालन गरेका छन् ।
जिल्ला कृषि विकास कार्यालयले गत वर्ष किसानलाई ५० प्रतिशत अनुदानमा १५ हजार बिरुवा वितरण गरेको थियो भने यस वर्ष पनि किसानबाट धेरै माग आएकोले माग धान्न नसकिएको कार्यालयको भनाइ छ । जिल्लामा २७० हेक्टर जमिनमा लिचीको उत्पादन हुँदै आएको छ ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ २७, २०७१