बिहिबार, बैशाख १३, २०८१

बिज वृद्धि कार्यक्रम विस्तार

धनगढी, २६ जेठ । कैलाली र कञ्चनपुर जिल्लामा स्थानीय कृषकस्तरमा गरिने धान र गहुँको बिज वृद्धि कार्यक्रम विस्तार भएको छ । बिज वृद्धि कार्यक्रममा दुई वर्षअघिसम्ममा यी दुई जिल्लामा २०÷२२ जना कृषक संलग्न हुने गरेकामा अहिले ३५÷४० जना कृषक लागेको राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेड शाखा कार्यालय धनगढीले जनाएको छ । कार्यक्रम विस्तारसँगै अहिले यी दुवै जिल्लामा धान र गहुँको बिज वृद्धि कार्यक्रम झन्डै २३५ हेक्टरमा गरिन थालिएको छ । कार्यालयले स्थानीय कृषकस्तरमा गहुँको पाँच थरि र धानको पाँच थरि उन्नत जातको बिज वृद्धि कार्यक्रम सञ्चालन गर्दैआएको कार्यालय प्रमुख चन्द्रप्रसाद भट्टले बताए । कार्यक्रमको विस्तारसँगै कृषकले उन्नत जातको धान तथा गहुँको बीउ प्रयोग गर्न थालेपछि पहिलेको तुलनामा यी दुई बालीको उत्पादकत्व पनि केही वृद्धि हुन थालेको कृषकको अनुभव रहेको छ । बीउबिजन कम्पनीले कृषकसँगको करारमुताविक उनीहरूको उत्पादन खरिद गरी अन्य कृषकलाई गुणस्तरीय बीउ बिक्री वितरण गर्दै आएको छ । कृषकस्तरमा गहुँतर्फ उन्नत जातका एनएल २९७, विजय, डब्लु पे १२०४, आदित्य र गौतम जातको बिज र धानतर्फ राधा ४, सुक्खा ३, सुक्खा १, सावित्री र सावा सववान जातको बीउ उत्पादन हुने गरेको छ । बिज वृद्धि कार्यक्रम विस्तार भए पनि यस वर्ष स्थानीय क्षेत्रमा उत्पादित धानको बीउ भने अपुग भएको र भैरहवाको निजी बीउ उत्पादक कम्पनीबाट धानको बीउ खरिद गरेर कृषकलाई आपूर्ति गर्नुपरेको बताइएको छ । धानको ब्याड राख्ने समय जेठ महिनामा स्थानीय क्षेत्रमा उत्पादित झन्डै ७० मेट्रिक टन बीउ सकिएपछि बाहिरबाट झन्डै १२७ मेट्रिक टन उन्नत जातको धानको बीउ खरिद गर्नुपरेको हो । यस वर्ष सरकारले धानको बीउमा अनुदान दिएकाले पनि माग ह्वात्तै बढेको हो ।
यस वर्ष भएको बीउ बिक्री वितरणको अनुपातमा आगामी वर्ष धान र गहुँको बिज वृद्धि कार्यक्रम कृषक स्तरमा विस्तार गरिने लक्ष्य कार्यालयले लिएको छ । यसैबीच, सरकारले सिफारिस नगरेको र सूचीकृत नभएको सर्जू जातको उन्नत धानको बीउको माग स्थानीय कृषकमाझ अत्यधिक रहे पनि कृषकलाई यो धानको बीउको अभाव भएको छ । फलस्वरुप भारतीय क्षेत्रबाट भित्रिने सर्जू धानको बीउ प्रयोग गर्न कतिपय कृषक बाध्य भएका छन् ।  रोग किराको समस्या बढी देखिने भएका कारण सरकारले यो धानको बीउ सिफारिस नगरेको बताइएको छ । कृषक भने यो धानको उत्पादकत्व अन्य धानको तुलनामा राम्रो हुने गरेको बताउँछन् । – कृषि साप्ताहिक

प्रकाशित मिति: सोमवार, जेष्ठ २६, २०७१