बिहिबार, बैशाख १३, २०८१

सफल होला कृषि परिवार वर्षले ?

काठमाडौं २४, जेठ । सन् २०१४ लाई सरकारले पारिवारिक खेती बर्षका रुपमा मनाउने गरी घोषणा गरेको छ । नेपालका ७५ प्रतिशत जनताका परिवार कृषिमा नै आश्रित मात्र छैनन् निर्वाहमुखि खेतीमा नै अल्झिरहेका छन् । कृषि परिवार वर्ष यसै पनि कृषि क्षेत्रका लागि शुभ सूचक हो । प्रत्येक परिवारले आफ्नो घर वरिपरि करेसा बारीदेखि लिएर कौशीसम्म तरकारी खेती लगाउने काम यसमा गरिन्छ । पहाडदेखि तराइसम्म र हिमालदेखि उपत्यकासम्मका निजी घरहरुमा कौसी तथा करेसा बारीमा तरकारी लगाउने प्रचलन आजको होइन । धेरै पहिलेदेखि गाउँघर वा सहरबजारमा घरको करेसाबारीमा तरकारी लगाउने गरिन्थ्यो । करेसाबारीलाई चारैतिरबाट बारेर आफूलाई आवश्यक तरकारी लगाउने गरिन्छ । तरकारीमा घिरौंला, चिचिण्डा, करेला, फर्सि, साग–सब्जी, खुर्सानी, मकै, बोडी आदि लगाइन्छ ।

सरकारले ल्याएको कृषि परिवार वर्ष नीति आफ्ना ठाउँमा ठिक छन् । तर त्यसलाई कार्यान्वयन गराउनका लागि सरकार पनि लागि पर्नुपर्दछ । जनताले गरेको कार्यमा सरकारले आफ्नो तर्फबाट आवश्यक सहयोग जुटाउने हो भने तरकारीमा गुणस्तरीयता कायम हुनुका साथै परिमाणमा पनि बढोत्तरी हुने निश्चित छ । सरकारले मल, बीउ, प्रविधिलगायतका सुविधा प्रदान गर्ने हो भने सानो ठाउँमा पनि किसानले धेरै परिमाण र विविध खालका तरकारी उत्पादन गर्न सकिन्छ ।
कृषि परिवार वर्ष भन्ने वित्तिकै परिवारका सम्पूर्ण सदस्य यसैमा लागिपर्ने भन्ने हो । कार्यालय वा शैक्षिक क्षेत्र आदि ठाउँमा आवद्ध सदस्यले साँझ, बिहान र बिदाका दिनहरुमा आफ्नो केही समय तरकारी उत्पादनमा लगाउन सकिन्छ । यसो गर्दा एकातिर आत्मसन्तुष्टि प्राप्त हुन्छ भने अर्कोतिर तरकारी किन्नमा गरिने खर्चमा निकै कटौति हुन जान्छ । ताजा तरकारी खान पाउने कुरा त छँदै छ; त्यसमा आत्मनिर्भर पनि हुन सकिन्छ ।
अहिले कौशीमा तरकारी खेती लगाउने प्रचलन निकै लोकप्रिय हुन थालेको छ । सहरभरिका पक्की घरहरुमा कौशीमा लहरा भएका र लहरा नभएका थुप्रै खालका तरकारी लगाउने गरिन्छ । तरकारीले गर्दा घरको सुन्दरता पनि थपिन्छ । हरियो दृश्यले आँखालाई पनि राम्रो हुन्छ । हराभरा दृश्यले सवैलाई मोहित बनाउँछ । त्यसैले सरकारले ल्याएको कृषि परिवार वर्षलाई सार्थक बनाउनु आवश्यक छ । घरका कौशी र करेसाबारीमा लगाउने तरकारीको गुणस्तर एवं परिमाण वृद्धि गर्ने सम्बन्धमा किसान र सरकारका बिचमा समन्वय हुनु आवश्यक छ । सरकारले तरकारी खेतीका लागि प्राथमिकता दिनु आवश्यक छ र किसानले पनि यसमा चासो पर्ने जरुरी छ । सरकार र किसानबीच संवाद हुने र तरकारी खेतीमा उन्नति प्रगति हुने हो भने कृषि परिवार वर्षले सार्थकता पाउनेमा शंका रहँदैन ।

प्रकाशित मिति: शनिबार, जेष्ठ २४, २०७१