शुक्रबार, बैशाख ७, २०८१

कृषि बीमा गर्न कम्पनी मौन सहकारी सक्रिय

इलाम, २३ जेठ । बीमा कम्पनीहरुले कृषि बीमालाई वेवास्ता गर्दा पनि बीमा समितिले खासै चासो नदेखाएपछि कृषि सहकारीहरु नै बीमा गर्न अगाडि बढेका छन् । आफूले पालेका गाईको बिमा हुन थालेपछि उत्तरी सुलुबुङमा किसान गाईपालनतर्फ आकर्षित भएका छन् । बृहत्तर पशुपालन तथा कृषि सहकारी संस्था सुलुबुङले गाईको बिमा गरिदिन थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् । संस्थामा आबद्ध ४०० किसानका एक हजार ३०० उन्नत जातका गाईमध्ये ४०० गाईको बिमा गरिएको संस्थाका अध्यक्ष नेत्रप्रसाद रिजालले बताउनुभयो ।

Cowसंस्थाको बिमा कोषमा रु ११ लाख सञ्चित छ । बिमित गाई म¥यो भने बिमा रकम उपलब्ध गराउने गरिन्छ । बिमा गरेको पहिलो वर्ष नै गाईको ६० प्रतिशत, दोस्रो वर्षमा ७० प्रतिशत र तेस्रो वर्षमा ८० प्रतिशत बिमा रकम दिइन्छ । त्यसपछि कुनै पनि बिमा रकम नदिइने संस्थाले जनाएको छ । “गाईको बिमा गरेपछि कारणबस मृत्यु भएमा रकम पाइन्छ भनेर बिमातर्फ किसानको आकर्षण बढेको छ”, रिजाल भन्नुहुन्छ । बिमा रकम पाउन किसानले बिमा गरिएको गाईको निरन्तर नवीकरण गरिरहनुपर्दछ ।
एउटा गाई बराबर रु ५० हजार मूल्याङ्कन गरी त्यसको १० प्रतिशतमध्ये ५० प्रतिशत सम्बन्धित गाईपालकले र बाँकी बिमा कोष समितिले व्यहोरेर बिमा गर्ने गरिन्छ । पहिलो वर्ष सरकारले बिमा रकम उपलब्ध गराए पनि त्यसपछिदेखि संस्थाले आफैँ कोष सञ्चालन गरेको अध्यक्ष रिजालको भनाइ छ । संस्थाले अहिलेसम्ममा मृत्यु भएका ११ वटा गाईको बिमा रकम भुक्तानी दिइसकेको छ ।
जिल्लाका पूर्वी क्षेत्र फिक्कल, पशुपतिनगर, कन्याम, पञ्चकन्या, श्रीअन्तुलगायतका क्षेत्रमा गरेका उन्नत जातको गाई भित्र्याएर सुलुबुङका किसानले उन्नत जातका गाईपालन व्यवसाय सञ्चालन गरेका हुन् ।
जर्सी, होलिस्टिन जातका गाई पालेर किसानले दैनिक १० देखि २५ लिटर दूध दुहुने गरेका छन् । सुलुबुङकी लीलादेवी भट्टराईले सात वटा उन्नत जातका गाईपालन गर्नुभएको छ । उहाँले भट्टराई कृषि तथा पशुपालन फर्म दर्ता गरेर गाईपालन व्यवसाय गर्नुभएको हो । उहाँलाई जिल्ला पशुसेवा कार्यालयले युवा स्वरोजगार कोषअन्तर्गत रु ५० हजार बिना धितो अनुदान दिएको छ ।
चार वर्षअघि स्थापना गरिएको बृहत्तर पशुपालन तथा कृषि सहकारी संस्थालाई सरकारले रु १० लाख २८ हजार अनुदान दिइसकेको छ भने संस्थाले आगामी वर्षका लागि रु चार लाख माग गरेको अध्यक्ष रिजालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ २३, २०७१