सोमवार, अशोज ८, २०८०

विराटनगरमा बीउको अभाव

विराटनगर, २२ जेठ । बर्खे धानबालीका निम्ति बीउ राख्न सुनसरी र मोरङमा बीउको हाहाकार भएको छ । बीउ नपाएर कृषकहरू भारतबाट अवैध रूपले आउने गुणस्तरहीन बीउ महँगोमा खरिद गर्न बाध्य भएका छन् । सुनसरीको तरहरा अनुसन्धान केन्द्र र राष्ट्रिय बीउबिजन केन्द्र इटहरीमा पनि बीउ पर्याप्त नभएको कृषक बताउँछन् ।

तरहरा अनुसन्धान केन्द्रबाट उत्पादन हुने राधा–१२ को मूल्य प्रतिकेजी २९ रुपैयाँ ७० पैसा कायम गरे पनि यो मूल्यमा बजारमा बीउ नपाउने र उत्पादन बढी दिने राधा–११ बीउ पनि कतै नभएको बताइएको छ ।
बढी उत्पादन हुने बीउ राधा–१२, राधा–११, मन्सुली, कान्छी र भारतीय रञ्जित बीउको पनि अभाव रहेको पाइएको छ ।
भारतमा रु ४५ पर्ने रञ्जित बीउ कृषकले कालो बजारीबाट रु ६५ देखि ७० मा खरिद गरिरहेका छन् ।
भारतबाट चोर बाटो भएर आउने विवि–११ र एमटियू– ७०२९ बीउ पनि कृषकले बजारमा रु ७० प्रतिकेजीमा खरिद गरिरहेका छन् ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ २२, २०७१