मङ्लबार, बैशाख ११, २०८१

रानीखेत रोगले पशु मर्न थाले

रत्ननगर (चितवन), १९ जेठ । गर्मी बढेसँगै चितवनमा कुखुरासमेत मर्न थालेका छन् । केही दिनअघि यहाँ भएको अत्यधिक गर्मीका कारण किसानले पालेको सयौँ कुखुरा मरेको जिल्ला पशुसेवा कार्यालय चितवनले जनाएको छ । दैनिक परीक्षणका लागि मात्रै २०, २५ वटा कुखुरा ल्याबमा आउने गरेको सो कार्यालयका प्रमुख रामकुमार कार्कीले जानकारी दिनुभयो । परीक्षणका लागि ल्याउने कुखुरा यो समयमा दोब्बरले वृद्धि भएको छ । एक त गर्मीका कारण कुखुरा मरेको पाइएको छ भने अर्काे रानीखेत र कक्सी भन्ने रोगले कुखुरा मरेको पाइएको तर अहिलेसम्म बर्डफ्लुको सङ्केत भने कही पनि नदेखिएको उहाँले बताउनुभयो । हप्ता १० दिनको अन्तरालमा चितवन गीतानगरका रमेश पोख्रेलको करिब एक हजार कुखुरा मरेको छ । रानीखेत रोगका कारण कुखुरा मरेको पशु कार्यालयले जनाएको छ । पोख्रेलको रु पाँच लाखभन्दा बढीको क्षति भएको बताइएको छ । अन्य कुखुरा फार्ममा पनि गर्मीले कुखुरा मरेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमवार, जेष्ठ १९, २०७१