बिहिबार, चैत्र १५, २०८०

रेशमखेतीतर्फ आकर्षण बढ्दो

चितवन, १४ जेठ । जिल्लामा रेशमखेती तर्फको आकर्षण फेरि बढ्न थालेको छ । खेती गर्ने तरिका परिवर्तन गरेर सरकारी तवरबाट अनुदान बढाएपछि यसतर्फ किसानको आकर्षण बढ्न थालेको हो ।

चितवन र मकवानपुर जिल्लालाई हेर्दै आएको किम्बु नर्सरी व्यवस्थापन केन्द्र भण्डाराका अनुसार २०५८÷०५९ सालसम्म दुई जिल्लामा १०० हेक्टरभन्दा बढी क्षेत्रमा किम्बुखेती गरिन्थ्यो ।
यसबाट त्यति राम्रो आम्दानी हुने नदेखेपछि क्रमशः यसतर्फको आकर्षण घट्दै जाँदा अघिल्लो आर्थिक वर्ष जम्मा ७० हेक्टरमा मात्र किम्बुखेती गरिएको केन्द्रका प्रमुख मेघनाथ तिमल्सिनाले बताउनुभयो ।
रेशमखेती गर्ने तरिका परिवर्तनसँगै गएको आर्थिक वर्षमा पाँच हेक्टर र यस वर्ष १० हेक्टर क्षेत्रफल थपिएको उहाँले बताउनुभयो ।
पहिले नेपाल सरकार र विभिन्न परियोजनाले अनुदान दिए पनि पछिल्लो समय अनुदान घट्नु, वैदेशिक रोजगारतर्फको आकर्षण बढ्नु लगायतका कारण किम्बुखेतीतर्फको आकर्षण घटेको केन्द्रको भनाइ छ ।
अघिल्लो वर्षदेखि अरु खेती नहुने बारी, खेतको आली, घाँस लगाएको बारीको डिल, माछापोखरीको डिल लगायतका खेर गएको ठाउँमा किम्बु लगाउन थालिएको, रेशमको कोयाको मूल्यमा वृद्धि भएको र सरकारी अनुदान बढेसँगै यस खेतीतर्फ आकर्षण बढेको कृषक बताउँछन् ।
रु २७५ प्रतिकिलोमा बिक्री हँुदै आएको कोयाको मूल्य रु ३७५ पुगेको छ भने सरकारले किम्बुका बिरुवामा आधा छुट र अन्य सामग्री निःशुल्क दिँदै आएको छ ।
चितवनको कल्याणपुर र अयोध्यापुरी एवम् मकवानपुरको सरीखेत, बुढीचौर र निबुवाटारमा रेशमखेती गरिँदै आएको छ । चितवनमा ७० जना र मकवानपुरमा ५० जना यो खेतीमा लागेका छन् । हाल वार्षिक रुपमा चितवनमा चार टन र मकवानपुमा तीन टन कोया उत्पादन हुँदै आएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ १४, २०७१