म्याग्दी, १० जेठ । जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा नकारात्मक असर देखिन थालेकाले सचेत रहनुपर्ने सरोकारवालाले बताएका छन् । जिल्ला पशुसेवा कार्यालय म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा सहभागी पशुस्वास्थ्य प्राविधिक, कृषक र वातावरणसँग सम्बन्धित कार्यालयका प्रतिनिधिले पृथ्वीको बढ्दो तापक्रमका कारण पशुपालन क्षेत्रमा उत्पन्न असर न्यूनीकरणका लागि सजग बन्नुपर्ने बताएका हुन् । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै क्षेत्रीय पशुसेवा निर्देशनालय पोखराका निर्देशक डाक्टर वंशी शर्माले पछिल्लो समय वातावरणीय असरको प्रभावका कारण चरन क्षेत्रको घट्ने, हिमाली क्षेत्रमा विषालु घाँस उम्रिएको, पशुहरुमा नयाँ रोग देखिने र उत्पादनमा गिरावट आउन थालेकाले चुनौती थपिएको बताए ।
जिल्ला पशुसेवा कार्यालय म्याग्दीका प्रमुख वरिष्ठ पशु चिकित्सक दयाराम चापागाईंले पशुहरुमा वातावरणीय असरका कारण बाँझोपना र तुहिने समस्या बढेको तथा आहारामा कमी हुँदा तनावका कारण उत्पादनमा समेत गिरावट आउन थालेको बता । वातावरणीय असरका कारण देखिएको चुनौतीको सामना गर्न जिल्लास्तरमा चरन क्षेत्रको विस्तार र संरक्षण, पशु आहारा उत्पादन र घाँसखेती विस्तारमा जोड दिएको जानकारी प्रमुख चापागाईंले दिए । जिल्ला भूसंरक्षण अधिकृत दिवाकर पौडेलले पशुपालनमा देखिएको वातावरणीय असरको क्षति न्यूनीकरणका लागि वन क्षेत्रमा घाँस र फलफूलखेती विस्तार गर्न सकिने बताए । जिल्ला वन अधिकृत रामस्वार्थ शाहले हिमाली र पहाडी क्षेत्रमा देखिएको वातावरणीय असर न्यूनीकरणका लागि वन क्षेत्रमा गरिने विनाशकारी मानवीय क्रियाकलापलाई नियन्त्रण गर्नु जरुरी छ भनृ । कार्यक्रममा म्याग्दी र मुस्ताङका कृषक, पशु स्वास्थ्य प्राविधिक, दूध व्यवसायीलगायतको सहभागिता रहेकोे थियो ।
Add Comment