मङ्लबार, अशोज ९, २०८०

किसानहरू व्यावसायिक मसुरोखेतीप्रति आकर्षित

सप्तरी, १० जेठ । पछिल्ला केही वर्षयता सप्तरीका किसान व्यावसायिक मसुरोखेतीप्रति आकर्षित भएका छन् ।
सरकारले मसुरोखेती प्रवद्र्धनका लागि सप्तरीमा विशेष कार्यक्रम सञ्चालन गरेपछि किसानहरू मसुरो दालखेतीप्रति आकर्षित भएका हुन् ।
मसुरो दालको महत्व, दाल उत्पादन बढाउने तरिका र रोग किरा नियन्त्रणका विषयमा किसानलाई नियमित प्रशिक्षण दिँदै आएका कारण किसान मसुरो उत्पादनमा हौसिएका जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।
कम लागतमा बढी उत्पादन हुने र बजारमासमेत मसुरो दालको माग र मूल्य बढी भएकाले आफूहरू मसुरोखेतीप्रति आकर्षित भएको किसान बताउँछन् ।
पहिलापहिला सप्तरीको करिब एक÷डेढ हजार हेक्टरमा मात्र किसानले मसुरोखेती गर्दै आएकामा पछिल्लो दुई वर्षयता तीन हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमै मसुरोको खेती गर्न थालेका जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।
यस वर्ष सप्तरीमा किसानले तीन हजार १०५ हेक्टर क्षेत्रफलमा लगाएको मसुरोखेतीबाट प्रतिहेक्टर एक दशमलव २५ का दरले तीन हजार ८८१ मेट्रिक टन मसुरो उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
यो गत वर्षको भन्दा बढी उत्पादन भएको हो । गत वर्ष तीन हजार हेक्टर क्षेत्रफलमा मसुरो लगाइएकोमा प्रतिहेक्टर शून्य दशमलव आठका दरले दुई हजार ४०० मेट्रिक टन उत्पादन भएको थियो ।

प्रकाशित मिति: शनिबार, जेष्ठ १०, २०७१