काठमाडौँ, ९ जेठ । कृषि विकास बैंक लिमिटेडले साधारण सेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ । आज काठमाडौँमा सम्पन्न बैंकको सातौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०६९÷०७० को सञ्चित मुनाफाबाट ३१.५८ प्रतिशत लाभांश दिने निर्णय पारित गरेको हो । कृषि विकास बैंक लिले प्रदान गर्न लागेको यो लाभांश रकम सबभन्दा उच्च बिन्दुमा रहेको बैंकका सूचना अधिकृत रमेशराज रेग्मीले बताउनुभयो ।
बैंकको २४१ शाखाबाट दुई लाख १२ हजार साधारण सदस्यले उक्त मुनाफा प्राप्त गर्न सक्नेछन् । बैंक सञ्चालक समितिका अध्यक्ष प्रमोदकुमार कार्कीले आयोजित साधारणसभामा आर्थिक वर्ष २०६९÷०७० मा बैंकको खुद मुनाफा दुई अर्ब २९ करोड पुगेका कारण सेयर सदस्यलाई मुनाफा वितरण गरिएको जानकारी दिनुभयो । बैंकले आर्थिक वर्ष २०६९÷०७० असार मसान्तमा निक्षेप रकममा २५.९२ प्रतिशतले वृद्धि गरी रु.५४ अर्ब ४८ करोड कायम गरेको छ भने आर्थिक वर्ष २०६८÷०६९ असार मसान्तमा उक्त रकम रु ४३ अर्ब २६ करोड रहेको बताएको छ ।
बैंकले एसियाली विकास बैंकको अनुदान सहयोगमा अत्याधुनिक प्रविधिसहितको कोर बैंकिङ प्रणालीलाई प्रयोगमा ल्याएको छ । हाल बैंकको ९६ वटा कार्यालयमा कोर बैंकिङ प्रणाली जडान गरी निक्षेप सङ्कलन गरेको छ ।
उक्त कारोबारतर्फ कुल कारोबार रकमको करिब ९० प्रतिशत रहेको बताइन्छ ।
बैंकले ६० प्रतिशत कार्य अनलाइन सेवाबाट उपलब्ध गराउँदै आएको छ भने १६ वटा कार्यालयबाट एटीएम एडीबीएल रेमिट र अन्य नौ वटा एजेन्सी रेमिटसँग सहकार्य गरी १८१ वटा कार्यालयबाट अनलाइन विप्रेषण सेवा प्रदान गर्दै आएको छ ।
Add Comment