शुक्रबार, बैशाख ७, २०८१

कनिष्ठ महानिर्देशकका कारण कृषि विभागमा हंगामा

काठमाडौं,९ जेठ। कृषि विकास मन्त्रालयमा लामो समयसम्म महानिर्देशक पद रिक्त रहेका बेला निमित्त महानिर्देशक सम्हालेका सुरेशबाबु तिवारी आफूभन्दा कनिष्ठलाई महानिर्देशक बनाएपछि रुष्ट भएर लामो समयको घरविदामा बस्ने तयारीका साथ विदा स्वीकृत गराउन मन्त्रालय धाउन थालेका छन् ।

मन्त्रालय तानिएका सुरेशबाबु तिवारीलाई न त कार्यालय कक्ष दिएको छ न त जिम्मेवारी नै । त्यही भएर होला जिम्मेवारी नै नलिई हाजिर गरेर टाप कस्नु भन्दा विदामा नै बस्नु उपयुक्त देखेर तिवारीले लामो समयको विदा मागेर जागिरबाट नै पाखा लाग्ने तयारी गरिरहेको पत्ता लागेको छ । DG
हरेक निजामती कर्मचारीहरुको बढुवा गर्दा वा जिम्मेवारी थप गर्दा समेत वरिष्ठताका आधारमा दिने परम्परालाई लत्याउँदै कृषि विभागका महानिर्देशकमा कृषि मन्त्री हरिप्रसादपराजुलीले आफ्ना खाँटी कार्यकर्ता मानिएका वातावरण विभागमा महानिर्देशकका रुपमा रहेका युवकध्वज जिसीलाई ल्याएपछि कृषि विभागका सिनियर सहसचिवहरु रुष्ट बनेका छन् ।
महानिर्देशक बन्नका लागि वरिष्ठताका आधारमा अन्य चारजना सहसचिव तयार भएको भएपनि जिसीलाई मन्त्रीले तान्नुमा राजनीतिक कारण मात्र नभएर आर्थिक कारण समेत रहेको स्रोतको दावी छ । आफू रामपुर क्याम्पसमा प्राध्यापन पेशामा रहेका बेला एमाले निकट संस्थामा सक्रिय रहेको र तात्कालीन अवस्थामा अन्य दलका कार्यकर्ताबाट आफूले पिटाई समेत खानु परेको बताउने युवकध्वज जिसीले त्यसैलाई आधार बनाएर पार्टीको उच्च नेतासम्म आफूलाई महानिर्देशक बनाउन लागिपरेका थिए । कनिष्ठ नै भएपनि आफूले कृषि विभागलाई विगतमा भन्दा फरक ढंगले अगाडि बढाउने बचन आफ्ना नेताहरुलाई दिएका कारण एमालेका उपाध्यक्ष एवं वर्तमान गृहमन्त्री बामदेव गौतमकै निर्देशनमा कृषि मन्त्री हरिप्रसाद पराजुलीले युवक ध्वज जिसीलाई महानिर्देशक बनाएको आरोप लागेको छ ।
महानिर्देशक बन्नका लागि कृषि विकास मन्त्रालय एमालेको भागमा परेदेखि नै वरिष्ठताका आधारमा महानिर्देशक बन्नका लागि लालायित भएका एमाले निकट कृषिका सहसचिवहरुलाई मन्त्री पराजुलीले हिस्स बुढी खिस्स दाँत बनाईदिएपछि यतिखेर उनीहरु पनि रुष्ट भएर मन्त्री पराजुलीलाई आपूmहरुले देखाईदिने बताएका छन् ।
कृषि विभागको महानिर्देशक पदमा जिसी नियुक्त भएपछि वरिष्ठताका आधारमा महानिर्देशक बन्ने क्रम भंग मन्त्री पराजुलीको पालामा भएको देखिन्छ । कृषि विभागको महानिर्देशक खासै महत्वपूर्ण नभएको भएपनि पछिल्ला समयमा विभाग मातहत दातृ निकायको सहयोगमा आयोजनाहरु सञ्चालन भएकाले त्यस मार्फत ‘तर’ मार्नका लागि र आफ्नालाई आयोजना पार्नका लागि पनि जिसीले मन्त्री पराजुलीलाई मोटो रकम ख्वाएको स्रोतको दावी छ ।
विगतमा नेपालगञ्जको धम्बोजीमा एग्रोभेट सञ्चालन गरेर बसेका वर्तमान मन्त्री पराजुली अखिल किसान महासंघमा आवद्ध भएर महासचिव बन्न सफल भएका थिए । पार्टी उपाध्यक्ष बामदेव गौतमको दाहिना मानिएका हरिप्रसाद पराजुली गौतमकै निगाहामा विना सभासद् मन्त्री बन्न पाउने भाग्यमानी एमालेका कार्यकर्ताका रुपमा गनिएका छन् । मन्त्री पराजुली यतिखेर कृषि क्षेत्रको विकास भन्दा पनि कृषि आयोजनाहरु मार्फत कसरी आफ्ना मान्छेहरुलाई अनुदान उपलब्ध गराउन सकिन्छ भन्नेमा नै लागेका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ९, २०७१